महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं. ८ मा माघी मिलन कार्यक्रम सम्पन्न भएको छ । वडघर समितिको आयोजनामा माघी मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो । वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहराको प्रमुख अतिथीमा र उप प्रमुख तुलसी जोशी र वडा अध्यक्ष महेशराज जोशीको विशिष्ट अतिथीमा कार्यक्रम भव्यताका साथ सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा अतिथिहरु वडा सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरु, वडघर समितिका पदाधिकारीहरु, समाजसेवी बुद्धिजीवी, नागरिक समाज, थारु समुदायकोसहभागिता रहको थियो । कार्यक्रममा आफनो भनाई राख्दै नगर प्रमुख भोजराज बोहराले आफु यो समुदायसंग नजिक रहेको र सबै परम्परागत भेषभुषा, रहनसहन खानपिन सबै विषयमा जानकार रहेको बताए । विगतदेखी आफनै परिवारका सदस्यहरु जस्तै गरी बिभिन्न समयमासामाजिक कार्यमा पनि आफुले समन्वय गरेको र विवाह भोज भतेरमा पनि संलग्न रहेर काम गरेको बताए ।
यो समुदायको भेषभुषा, कला संस्कृतीको संरक्षण गर्न सम्वद्र्धन गर्न आवस्यक रहेको बताउँदै पालिकाले पनि सक्दो सहयोग गर्ने बताए । विगतका दिनहरुमा पालिकाले यो समुदायका महिलाहरुलाई विभिन्न सिप मुलक तालिम प्रदान गरेर आर्थिक रुपमा पनि सम्पन्न गराउनका लागी योजनाहरु ल्याएको बताए । पछिल्लो समयमा थारु समुदायहरुको मौलिकपन रहेका लोक नृत्यहरुमा युवा पुस्ताहरुले साथ दिएर त्यसको संरक्षण जेगर्ना गर्नमा साथ दिनु पर्ने बताए ।
कार्यक्रमका बिशिष्ट अतिथी एवम नगर उपप्रमुख तुलसी जोशीले यो कार्यक्रमबाट थारु समुदाय संग भेटघाट गर्न महत्वपूर्ण अवसर रहेको बताईन् । आफनो कला संस्कृती रहनसहन, भेषभुषाले गर्दा महत्वपूर्ण पहिचान बनाएको यो समुदायले यसको संरक्षण सम्वद्र्धन जेगर्ना गर्नका लागी ठुलो योगदान गरेको बताईन् । आफु पनि यो समुदायसंग रहेरविगतका दिनमा कार्य गरेको र अहिले पनि समुदायका दिदिबहिनीहरुसंग रहेर बिभिन्न योजनामा सहकार्य गर्दै अगाढी बढेको बताईन् ।
जसरी यो समुदायले रातभर जाग्राम रहेरे बिहानै नुहाइधुवाइ गरी कुल देवताको पूजा गरेपश्चात् ढकियामा चामलसँगै राखिएको नुन, खुर्सानी, गच्छे अनुसारको दक्षिणा राखेर चेलिबेटी, दिदीबहिनीलाई निश्राउ दिने चलन हाम्रो परम्परासंग मिल्ने बताईन हाम्रो समुदायमा पनिचैतलो भेटाउलो पनि यस्तै प्रकारको चलन रहेको बताईन् । माघी आउनपूर्व एक महिनादेखि थारु समुदायका महिलाले तोरीको तेल पेल्ने, अन्ती धान कुटेर त्यसको चामलको गुलियो जाँड बनाउने, रक्सी तयार गर्ने, ढिक्री बनाउनका लागि चामल ढिक्कीमा कुट्ने लगायत काम गर्दै आएका छन् ।
नदी तलाउबाट माछा मारेर ल्याई आगोमा सुकाएर माघीका बेला विभिन्न परिकारसँगै पाहुनालाई खान दिइने गरिन्छ । माघीमा थारु समुदायले मघौटासँगै छोक्रा नृत्य पनि देखाउने गरेका छन् । यसै अवसरमा गाउँका सबै जनाले गच्छेअनुसार सुँगुरको मासु खरिद गर्ने तथा नयाँ लुगा लगाउने चलन रहेको छ । सुँगुर ढाल्ने दिनलाई ‘जिता मर्ना भन्ने गरिएको छ, माघ महिना सुरु भएपछि कुनै पनि पशुपन्छीको बध गर्न नहुने चलन छ ।
त्यसैले एक दिनअगावै सुँगुर ढाल्ने, कुुखुरा, भेडा, बाख्राको मासुको व्यवस्था गरिन्छ । जिता मर्ना गरिने दिनको रातभरि आगोका धुनी जगाई रातभर मादल, डम्फु बजाउँदै बुढापाका, युवालगायतले पुराना गीत गाउँदै महिलाले छोक्रा र मघौटा नृत्य नाच्ने गर्दछन् । रातकै बेला अन्ती चामलको पिठोबाट बनेका ढिक्री, तिलको लड्डु, खेरिया, तरुल, गैँजी, उसिनेको चामलको भात खाने गरिन्छ ।
Comments are closed.