कञ्चनपुरमा अत्यधिक चिशो बढेपछि दुई पालिकाले आफना सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेका छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका र कृष्णपुर नगरपालिकाले २ दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरेका हुन् । नगरपालिकाले पछिल्लो समय अत्यधिक जाडो बढेको भन्दै माघ ४ र ५ गते विद्यालयमा जाडो विदा दिने निर्णय गरेको एक सुचना मार्फत जानकारी दिएका छन् ।
मौसम प्रतिकुलताका कारण पछिल्लो समय अत्यधिक चिशो बढेपछि विद्यार्थीहरुको पठनपाठनमा असहजता र स्वास्थ्य अवस्थामा समेत प्रतिकुल असर पर्ने अवस्था भएकाले बिद्यालयको जाडो विदाबाट कट्टा हुने गरी २ दिन विदा दिन सुचना मार्फत जानकारी दिएको छ । अहिले अत्यधिक चिशो बढेपछि आफना बालबालिकाहरुलाई विद्यालय पठाउनमा पनि समस्या भएको स्थानिय गिता चौधरीले बताईन् ।
पालिकाले गरेको विद्यालय बन्दले गर्दा बालबालिकाहरुलाई केही राहत हुने उनको भनाई रहेको छ । बिहान चिशोमा साईकलमा चढेर विद्यालय जानु पर्ने जस्ले गर्दा धेरै विद्यार्थीहरु बिरामी हुने विद्यालय नआउने जस्ता समस्या भएपछि विदा दिईएको छ । विगत केही दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण कञ्चनपुर लगायत तराईको जनजीवन प्रभावित भएको छ । दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।
तराईका जिल्लामा अहिले दैनिकरुपमा बढदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् । चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित भएका छन् । निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न कठिनाइ भएको हो ।
विशेषगरी बालबालिका र वृद्धवृद्धाहरु चिसोबाट बढी प्रभावित छन् । बाहिर श्रम गर्ने श्रमिकहरुलाई पनि चिसोले बढी प्रभाव पारेको छ । विशेषगरी रिक्सा ठेला चलाउने, निर्माणको काम गर्ने मजदुरलाई गाह्रो भइरहेको छ । जाडोका कारण स्कुल जाने बालबालिका, दैनिक ज्यालादारीमा घर बनाउने, सडक बनाउनेलगायतका काम गर्ने कामदारलाई समस्या भएको छ । यसैगरी, वृद्धवृद्धा अत्यधिक प्रभावित भएका छन् ।
चिसो बढेपछि जाडो छल्नका लागि मान्छेले ठाउँ ठाउँमा आगो बालेर तापिरहेको देख्न सकिन्छ । तराईका अधिकांश भूभागमा कुहिरो लागेको जल तथा मौसमविज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शीतलहरसँगै चिसो बढेकाले स्वास्थ्यको विशेष ख्याल गर्न आवश्यक रहेको महकाली अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले बताए ।
तराई मधेसमा न्यानो कपडाको अभावमा चिसोले कठ्यांग्रिएर बर्सेनि गरीब, विपन्न, सिमान्तकृत समुदायका मानिसको मृत्यु हुने गरेको छ । गरिबीका कारण चिसोबाट बच्न न्यानो कपडा नहुँदा र शीतलहरबाट जोगिने ज्ञान नहुँदा बर्सेनी सर्वसाधारणको ज्यान जाने गरेको कतिपयको बुझाइ छ ।
चिसोबाट बच्न मानिसहरु ठाउँ–ठाउँमा आगो तापेर बसिरहेको देख्न सकिन्छ । चिसोले गर्दा मानिसहरु बिरामी परिरहेका छन् । विशेष गरी कोल्ड डायरिया, दम र खोकीले मानिसहरुलाई सताउन थालेको चिकित्सकहरु बताउँछन् ।
Comments are closed.