महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १४ मा आँखा शिविर सम्पन्न भएको छ । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको हो । भीमदत्त नगरपालिका १४ को वडा कार्यालयमा आँखा शिविर सम्पन्न भएको पेसवानका सदस्य दमन चन्दले जानकारी दिएका छन् ।
उक्त आँखा शिविरबाट २ सय ७३ जनाले सेवा लिएको र ३५ जनाको आँखाको शल्यक्रिया गरिने माघ ५ गते धनगढी लैजाने उनले बताए । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । साथै उक्त शिविरमा ६५ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ । आफनै वडामा आँखाको उपचार पाएपछि स्थानिय राधादेवी भुलले आफु खुशी भएको बताईन् ।
आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताईन् । उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए । यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेकी मिनादवी जोशीले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताईन् ।
उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको बताईन् । कार्यक्रममा बोल्दै वडा अध्यक्ष भोजराज जोशीले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए ।
साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे । संस्थाका सदस्य दमन चन्दले माघ ६ गते वडा नम्वर ३ मा पनि आँखा शिविर गरिने बताए । यो भन्दा पहिले पेसवानले भीमदत्तका वडा नं. २, १३ र ७ मा आँखा शिविर सञ्चालन गरिसकेको छ । साथै उनले, माघ भित्र सबै वडामा आँखा शिविर संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।