बेलौरी नगरपालिका र सम्झौता सहकारीद्धारा शुद्ध तोरीको तेल उत्पादन शुरु

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका र सम्झौता सहकारी बहुउदेश्यीय सहकारी संस्थाद्धारा “बेलौरी तोरीको तेल” उत्पादन शुरु गरिएको छ । सोमवार उक्त उद्योगको उदघाटन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी एवम सुदूपश्चिम प्रदेशका सभामुख माननिय भीमबहादुर भण्डारी उद्योगको उदघाटन गरेका छन् । सीमावर्ती बेलौरी नगरपालिका ४ नम्बर वडामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको हो ।

बेलौरी तोरीको तेल ब्राण्डिङ्ग लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योगले सोमबारदेखि शुद्ध तोरीको तेल उत्पादन गरिरहेको छ । प्रशोधित सहित यो जिल्लामा दास्रो तोरीको तेल उत्पादन बिक्रि वितरण गर्ने उद्योग स्थापना भएको नगरपालिकाले जनाएको छ । बेलौरी नगरका मेयर पोतिलाल चौधरीले स्थानीय सरकार सहितको निजी क्षेत्रसगको संयुक्त साझेदारीमा तोरीको तेल उद्योग संचालनमा आएको बताए ।

मेयर चौधरीले झण्डै ३० लाख लागतमा तोरीको तेल उद्योग संचालनमा आएको बताए । मेयर चौधरीका अनुसार नगरपालिकाको १५ लाख, बाली विकास तथा कृषि जैविक विविधता सरक्षण केन्द्रको १० लाख र सम्झौता सहकारी संस्थाको ५लाख संयुक्त लागतमा उद्योग संचालनमा आएको बताए । ‘हामी बेलौरी नगरबासी सीमावर्ती क्षेत्रका हौँ, घरमै उत्पादन हुने तोरी बिक्रि गरेर भारतीय बजारमा अखाद्य तेल उपभोग गरिरहेका छौँ, ‘उनले भने, ‘अखाद्य तेलबाट एकातिर मानव स्वास्थ्यमा असर अर्कातिर हाम्रो पैशा भारतीय बजारमा बेकारमा खेर गरिरहेको छ ।’

उद्योग स्थापनाका लागि बेलौरी नगरपालिकाले आर्थिक बर्ष ०७९÷०८०को नीति, कार्यक्रम मार्फत ८०प्रतिशत लगानीमा उद्योग संचालन गरेको बताए । ‘यो उद्योग किसानबाट कच्चा पदार्थ खरिद गर्ने, त्यो कच्चा पदार्थको प्रशोधन सहितको बजारमा शुद्ध तोरीको तेल बिक्रि वितरण गर्ने हो, ‘मेयर चौधरीले भने, ‘हामीले पनि स्थानीय स्तरमा रहेका बस्तु तथा सेवाको उपभोग गरेर जनतालाई स्वच्छ खानेतेल पु¥याउने हो ।’

बेलौरी सहित आसपासका बेलडाँडी, लालझाडी र पुनर्वासमा तोरी उत्पादनको राम्रो सम्भावना रहेकोले त्यसको उचित खपत सदुपयोग गर्दै किसान र उपभोक्तालाई लाभान्वित गराउने योजना रहेको मेयर चौधरीले बताए । ‘स्थानीय स्तरमा उत्पादन भएको तोरीको उपभोगदेखि उत्पादित तेलको प्रशोधन सहित बजारमा उपभोक्ताका लागि शुद्ध तोरीको तेल बिक्रि वितरण नगरपालिकाको लक्ष्य हो, ‘मेयर चौधरीले भने, ‘यसबाट एकातिर रोजगारी अर्कातिर नागरिकको स्वास्थ्य सुधार हुनेछ ।’

उद्योग सचालनमा आएपछि किसानले समेत तोरी बेच्नका लागि समस्या नहुने र उपभोक्तालाई समेत शुद्ध तोरीको तेल उपभोगका लागि सहज हुनेछ । मेयर चौधरीले कच्चा पदार्थको अभाव हुन नदिन किसानलाई नगरपालिका मार्फत तोरी उत्पादनका लागि प्रर्बद्धनात्मक कार्यक्रम गर्ने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.