महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १७ मा आँखा शिविर सम्पन्न गरिएको छ । सोमवार वडा कार्यालयमा आयोजना गरिएको आँखा शिविरबाट २ सय ५८ जनाले सेवा पाएका छन् । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) को आयोजना र च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीको प्राविधिक सहयोगमा आँखा सिविर सम्पन्न भएको हो ।
पेसवानका सदस्य दमन चन्दका अनुसार २४ जनाको आँखाको शल्यक्रिया गरिने माघ २३ गते धनगढी लैजाने उनले बताए । उक्त शल्यक्रियाको सबै खर्च च्यारिटी हेल्थ फाउन्डेसन र धनगढी नेत्रालय प्रालीले बेहोर्ने भएका छन् । साथै उक्त शिविरमा ९१ जनालाई निशुल्क चश्मा पनि प्रदान गरिएको छ । आफनै वडामा आँखाको उपचार पाएपछि स्थानिय रमेश पार्कीले आफु खुशी भएको बताए । आँखामा समस्या रहेको बताउँदै उनले बजार गएर महँगो उपचार गर्न नपर्ने बताए ।
उनले उपचार पछि चश्मा पनि पाएपछि अहिले आँखा देख्ने भएको बताए । यस्तै, आँखाको उपचार गर्नका लागी सिविरमा पुगेका ८० वर्षका सुरेश धामीले पनि आफुले आँखा सिविरबाट उपचार पाएपछि सजिलो भएको बताए । उनले आँखा रसाउने, पानी आउँने समस्या रहेको र आज भएको सिविरबाट आँखाको उपचार पाएपछि समस्या समाधान भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष पदमसिंह बुढाले आफनो वडामा आँखाको सिविर संचालन गर्ने सबै संस्थालाई धन्यवाद व्यक्त गरे, साथै आफना वडामा जनजाती दलितहरुको बाहुल्यता रहेको र सबैले यो सिविरबाट सेवा पाएपछि खुशी भएको बताए । साथै उनले आगामी दिनहरुमा पनि यस्तै खाले अन्य स्वास्थ्य सिविर संचालन गर्नका लागी पनि संस्थालाई आग्रह समेत गरे ।
संस्थाका सदस्य दमन चन्दले माघ २३ गते वडा नं. ५ मा आँखा शिविरको आयोजना गरिने बताए । साथै उनले, माघ भित्र सबै वडामा आँखा शिविर संचालन गर्ने लक्ष्य रहेको जानकारी दिए ।