भारतिय गाडी नेपाल प्रहरीले समातेको रिएक्सनमा बनबासामा एक्सन भयो : महाकाली यातायात अध्यक्ष पन्त

महेन्द्रनगर । नेपालबाट चल्ने नेपाल भारत मैत्री बसलाई बनबासामा भारतिय पक्षले आफनो नियन्त्रणमा लिएका छन् । मंगलवार नेपाल प्रहरीले गैर कानुनी रुपमा संचालनमा रहेका ५८ भारतीय जिपकारलाई नियन्त्रणमा लिएको थियो । त्यसको प्रतिशोध साध्नका लागि भारतीय पक्षबाट समेत नेपाली सवारी साधनमा नियन्त्रणमा लिईएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ११ गड्डाचौकी क्षेत्रमा पार्किङ्ग गरेका ५८ भारतीय सवारी साधन नियन्त्रणमा लिएको थियो, ठिक त्यसको दोस्रो दिन बुधबार भारतीय यातायात व्यवसायीले नेपाली सवारी साधन समेत नियन्त्रणमा लिएका छन् ।

महेन्द्रनगर बसपार्कबाट दिल्लीका लागि छुटेको एक महाकाली यातायातको बस भारतीय यातायात व्यवसायीले नियन्त्रणमा लिएका हुन् । उनीहरुले पार्किङ्ग गरेर राखेका आफ्ना सवारी साधन नेपाल प्रहरीले नियन्त्रणमा लिने भन्दै आफुहरुले समेत नेपाली सवारी साधन भारत चल्न नदिने चेतावनी दिएका छन् । महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बर राज पन्तकै नेपाल भारतमैत्री बस भारतीय बनबासा बजारमा रोकेर प्रहरीले जिम्मा लगाएको छ । यात्रु बोकेर दिल्ली जान लागेको नेपाल भारत मैत्री सुपप्र ०२००१ ख ११०० नम्बरको बसलाई रोकेको जनाईएको छ ।

महाकाली यातायात बहुउदेश्यीय कम्पनी प्रालिका अध्यक्ष डम्बर राज पन्तले यात्रु बोकेर दिल्ली जान लागेको आफ्नो बसलाई केही भारतीय यातयात व्यवसायीले रोकेर प्रहरी चौकी बुझाएको बताए । भारतीय सवारी साधन प्रहरीले समात्ने अनि हामीहरु निजी क्षेत्रका नेपाल भारत मैत्री बस भारतीय व्यवसायीले रोक्ने कार्यले व्यवसायी र यात्रुमाथि अन्याय भएको उनको भनाई छ ।

बिहान बनबासा नजिक टयाक्सी व्यवसायी र प्रहरीले गाडीलाई नियन्त्रणमा राखेको उनले बताए । विगत १० वर्षदेखी निर्वाध रुपमा संचालनमा रहेका भारत नेपाल मैत्री सवारी साधनलाई अहिले आएर कञ्चनपुर प्रहरीले जुन हिशावले भारतिय सवारी साधनलाई नियन्त्रणमा लियो त्यसैको प्रतिसोध साध्न यस्तो भएको उनले बताए । उनले आफुलाई भारतिय व्यवसायीहरुले भारतिय गाडीमा नेपाल प्रहरीको रिएक्सनको एक्सन भएको भनेर आफुलाई बताएको जानकारी दिए ।

साथै नेपाल भारतमैत्री सवारीलाई भारत तर्फ सम्मानले हेर्ने गरेको भएपनि पछिल्लो गतिबिधीले उक्त सम्मान पनि विर्गने अवस्थामा रहेको बताए । आफुले यो विषयमा प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी एसपी लगायतलाई जानकारी गराएको बताए । कञ्चनपुर प्रहरीले विभिन्न ५८ भारतीय जिपकार मध्ये ४८ सम्बन्धीत सवारी साधन धनीलाई बाँकी १० भन्सार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकास डाँगीले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.