महेन्द्रनगर । कञ्चनपुरमा युवक मृत फेला परेका छन् । भीमदत्त नगरपालिका–४ का ३५ वर्षीय चन्द्रबहादुर बिष्टको नहरमा शव भेटिएका हो । भीमदत्त नगरपालिका–४ स्थित महाकाली सिँचाइको मूल नहरमा मंगलबार बिहान शव भेटिएको प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले जानकारी दिए । आइतबार दिउँसो १२ बजेतिर घरबाट निस्किएका बिष्ट हराइरहेका थिए । उनले बोक्ने मोबाइल ‘स्विच अफ’ थियो ।
उनी फेला नपरेपछि परिवारले खोजबिनका लागि प्रहरीमा उजुरी दिएको थियो । उनको हुलिया सार्वजनिक गरेर भारततर्फ गएको आशंकामा गड्डाचौकी नाकाको सीसीटीभी हेरिएको थियो । उनी फेला परेका थिएनन् । तर, मंगलवार महाकाली सिँचाइको मूल नहरमा बोराभित्र उनको शव भेटिएको डीएसपी डाँगीले जानकारी दिए । पीडित परिवारका अनुसार चन्द्र एक साताअघि भारतबाट घर फर्किएका थिए ।
उनी आफन्तको बिहेका लागि घर आएका हुन् । त्यसअघि उनी मलेसियामा काम गर्थे । नेपाल आर्मीमा कार्यरत मृतक बिष्टकि श्रीमती शान्ति सेनामा सुडानमा छिन् । उनीहरूकी २ वर्षीया छोरी छन् । पीडित परिवारले चन्द्रको हत्या गरेर नहरमा फालेको आशंका गरेको छ ।
प्रहरीले शंकास्पद दुई जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । भीमदत्त नगरपालिका–५ का दीपक जोशी र भरत चन्दलाई सोधपुछका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
Comments are closed.