महेन्द्रनगर । वरिष्ठ देउडा अभियन्ता संस्कृतीकर्मी टेकबहादुर सुनामको ८० वर्षको उमेरमा निधन भएको छ । दार्चुला महाकाली नगरपालिका वडा नम्वर ४ खलंगा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ जानकी टोलमा बसोबास गरिरहनु भएका देउडा सस्कृती संरक्षण प्रतिष्ठान शाखा कार्यालय दार्चुलाका अध्यक्ष सुनामको बुधवार निधन भएको हो ।
देउडा खेलमा पाराङगत, कुसल गितारुको रुपमा परिचित सुनामले जिल्लामा, जिल्ला बाहिर हुने प्रतियोगिता, राष्ट्रिय स्तरमा भएका देउडा खेलमा प्रथम स्थान हासिल गरी विभिन्न संघसंस्थाले सम्मान पनि गरेका थिए ।
आफैले १८ भन्दा बढी देउडा गितहरु लेखेर विभिन्न प्रतियोगितामा प्रथम स्थान हासिल गरेको उनका छोरा सन्तोष सुनामले जानकारी दिनु भयो ।
देउडा खेल हुने स्थानको जानकारी पायो भने जुनसुकै ठाँउमा पनि पुग्ने र प्रथम स्थान हासिल गर्ने गरेको उनका जेष्ठ छोरा दिवान सुनामले बताउनु भयो । उहाँले नेपालमा मात्र नभएर भारतका विभिन्न क्षेत्र जोलजिवी, लुहाघाँट, पिथौरागढ लगायतका ति क्षेत्रहरुमा आफनो देउडा गित मार्फत प्रशिद्धी कमाउनु भएको थियो । सामुदायिक रेडियोबाट प्रशारण हुने देउडा कार्यक्रममा नियमित सहभागी जनाउने उहाँलाई विभिन्न सञ्चार माधयमहरुले पनि सम्मान गरेका थिए ।
उहाँ नेपाल दलित संघको पूर्व जिल्ला अध्यक्ष, दार्चुलामा नेपाल रेडक्रस जिल्ला कार्य समिति सदस्य, सुकुम्बासी जिल्ला आयोग सदस्य लगायत विभिन्न सामाजिक संघसंस्थामा आवद्ध रहेर काम गर्नु भएको थियो । पछिल्लो समय सामाजिक कार्यमा व्यस्त रहनु भएको सुनामको महेन्द्रनगरमा निधन भएको हो ।