महेन्द्रनगर । कञ्चनपुरका विभिन्न सिमानाकाबाट माईती नेपालले जोखिममा परेका १ सय १८ जनाको उद्धार तथा रोकथाम गरेको छ । विहिवार मानव वेचविखन तथा ओसारपसार नियन्त्रणका लागी पत्रकार सम्मेलन गर्दै आफ्नो वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरिएको छ । जिल्लामा रहेका विभिन्न खुल्ला सिमा नाकाबाट एक वर्षको अवधीमा माईती नेपाल कञ्चनपुरले जोखिममा परेका १ सय १८ जना महिला, बालबालिका, युवतीहरुको उद्धार गरेको हो ।
जसमध्ये कञ्चनपुरका ३७ जना, भीमदत्त नगरपालिकाका १४ जना रहेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयोे ।अहिले मानव बेचविखन गर्ने व्यक्तीहरुले पनि नयाँनयाँ जुक्ती गर्ने नयाँ योजना बनाउने, उनिहरुको बेचविखनको काम गर्ने शैली नै फरक रहेकोले आफुहरुलाई थप चुनौती रहेको उहाँले बताउनु भयो । अहिले बेचबिखनमा सबै भन्दा बढी परिवारबाट पिडित, एकल बालबालिका, युवायुवतीहरु, बढी पैसा कमाउनु पर्छ विलासिता खोज्नेहरु नै बेचबिखनमा पर्ने गरेको भएर सबैले सचेत भएर रहन पनि संयोजक भट्टले आग्रह गर्नु भयो ।
कञ्चनपुरमा रहेका खुल्ला सिमानाकाले गर्दा काम गर्न चुनौती रहेको बताउँदै संयोजक भट्टले मानव अधिकारको सवालहरुले पनि केही समस्या उत्पन्न भएको जिकिर गर्नु भयो, स्वतन्त्रता पूर्वक हिँडडुल गर्न पाउनु पर्ने भन्दै केही युवायुवतीहरु आफै घरदेखी निस्किने सोधपुछ गर्दा हामीलाई हिँडडुल गर्न पनि नदिने भनेर काम गर्न समस्या भएको उहाँले बताउनु भयो । मानव वेचविखनमा पछिल्लो समय नक्कली कागजात खडा गरेर भारत लैजाने क्रम पनि बढेको पाईएको छ ।
अहिलेको समयमा सामाजिक सञ्जाल र मोवाईल फोनको दुरुपयोगले गर्दा सबै भन्दा बढी जोखिम बढेको र मानव बेचविखनमा पर्ने सम्भावना रहेको संयोजक भट्टको भनाई रहेको छ । उहाँका अनुसार सन् २०२३ जनवरी देखी डिसेम्वर सम्म गड्डाचौकी सीमा नाकाबाट ९५ जना र दोधारा–चाँदनी भोलुङगे पुल क्षेत्रबाट २३ गरी जोखिममा परेका ११८ जनाको उद्धार तथा रोकथाम गरिएको जानकारी दिनुभयो । जसमध्ये ४७ जना वालवालिका पनि रहेको उहाँले बताउनु भयो ।
साथै, यो अवधिमा भारतका विभिन्न शहरबाट २५ जनाको उद्धार गरिएको, १ सय २५ जनालाई मनोसामाजिक परामर्श प्रदान गरिएको, सिमानाकामा ४ हजार ५ सय ३३ वटा सवारी साधनको चेकजाँच गरिएको संयोजक भट्टले बताउनु भयो । यसैगरी माईती नेपाल कञ्चनपुरले १ सय २७ जनाको पारिवारिक पुनर्मिलन पनि गराएको छ । यो संगै माईती नेपाल कञ्चनपुरमा खोजतलासीका लागी १ सय ७१ ज्नाले निवेदन दिएको जस मध्ये कञ्चनपुरका ५३ जना र भीमदत्त नगरपालिकाका २१ जना रहेका छन् ।
माइती नेपाल कञ्चनपुरले मानव बेचबिखनका क्रियाकलाप तथा महिलामाथी हुने सबै किसिमका भेदभाव तथा हिंसा विरुद्ध काम विभिन्न सचेतना मुलक कार्यक्रमहरु पनि गर्दै आएको छ । विद्यालयमा र किशोरीहरुलाई मानव बेचविखन विरुद्ध कानुनी अनुशिक्षण दिने लगायतका कार्यहरु निरन्तर गर्दै आएको छ ।
Comments are closed.