डडेल्धुरामा हाकिममाथि कुटपिट गर्ने उपमेयर र वडा अध्यक्ष छुटे

महेन्द्रनगर । डडेल्धुरामा प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गर्ने तिनजना छुटेका छन् । पक्राउ परेका तीन जना जिम्मा जमानीमा छुटेका हुन् । परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृतमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका तीन जना जिम्मा जमानीमा छुटेका छन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका नगरपालिकाका उपमेयर विमलाकुमारी बोहरा, ७ नम्बर वडाका अध्यक्ष कर्णबहादुर धामी, १ का वडा अध्यक्ष लालबहादुर धामीलाई जिम्मा जमानीमा छोडिएको हो ।

कर्मचारीको निवेदनका आधारमा उनीहरूलाई पक्राउ गरेका थियौं, उनले भने, तर कसैले पनि जाहेरी नदिएपछि आफन्तको जिम्मा लगाएर छोडेका छौं । अनुसन्धान जारी राख्ने गरि तीनै जनालाई छोडिएको डिएसपी कार्कीले बताए । बिहीबार भएको कार्यपालिका बैठकमा जोशीमाथि कुटपिट भएको थियो ।

काङ्ग्रेसका कार्यपालिका सदस्यहरूका अनुसार नेकपा माओवादी केन्द्रबाट विजयी भएर कार्यपालिका सदस्य बनेकाहरूले धेरै पहिलेदेखि शिक्षा शाखा अधिकृत लक्ष्मी बिष्टको काज फिर्ता गर्नुपर्ने माग राखिरहेका थिए । बिहीबारको बैठकमा पनि उनीहरुले सोही माग गर्न थालेपछि प्रमुख प्रशासकीय अधिकृत जोशीले उक्त कुरा आफूहरुले गर्न नसक्ने बताएका थिए ।

सम्बन्धित

Comments are closed.