महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाले चैत्र ६ गते मंगलबार स्थानीय विदा दिएको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ स्थित मणिकाधाम बैजनाथ मन्दिरमा लाग्ने मेलाको अवसरमा एक दिन विदा दिइएको हो । नगरपालिकाले सोमबार एक सुचना जारी गर्दै मंगलबार नगरभित्रका सबै कार्यालय र शिक्षण संस्थाहरुमा विदा दिइएको हो ।
“नगरपालिका अन्तर्गतका सबै कार्यालय, शिक्षण संस्थाहरुमा चैत्र ६ गतेका दिन स्थानीय विदा दिने निर्णय भएको सम्बन्धित सबैमा जानकारी गरिन्छ,” नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले जारी गरेको सूचनामा उल्लेख छ । मेलालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि नगरपालिका तथा बैजनाथ मन्दिर व्यवस्थापन समितिले आवश्यक तयारी गरेको नगर प्रमुख रण बहादुर महराले बताए ।
मणिका धामलाई स्थानीय बासिन्दाले “मुड्का जाँत” का नामले चिन्ने गरेका छन् । धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ रहेको छ । नगरपालिकाले स्थानीय पाठ्यक्रममा समेत मणिका धाम मेलालाई राखेर पठनपाठन गराउँदै आएको छ ।
मणिकाधाममा मेला हेर्न कञ्चनपुर, कैलाली, डडेल्धुरा लगायत सीमा पारी भारतबाट समेत हजारौंको संख्यामा श्रद्धालु भक्तजन आउने गरेका छन् ।
Comments are closed.