महेन्द्रनगर । कञ्चनपुरमा अहिले सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव धुमधामका साथ भीमदत्त नगरपालिकाले मनाई रहेको छ । चैत्र ६ गतेदेखी ८ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गर्दै अहिले सातौ शुक्लाफाँटा पर्यटन महोत्सवको आयोजना भईरहेको छ । आर्थिक सम्वृद्धीको आधार पर्यटन विकास र पूर्वाधार भन्ने मुल नाराको साथमा आन्तरिक र बाह्य पर्यटकहरुको आवागमनमा वृद्धी हुने खालका विभिन्न कार्यक्रमको आयोजना गरी महोत्सवको आयोजना गरिने भएको छ ।
बुधवार गड्डाचौकी परिसरमा सरसफाई एवम भारतबाट आउनु हुने पर्यटकहरुलाई स्वागत कार्यक्रमको पनि आयोजना गरिएको छ । एक कार्यक्रमको आयोजना गर्दै गड्डाचौकी क्षेत्रमा सरसफाई र भारतबाट नेपालमा घुम्न आउनु हुने पर्यटकहरुलाई फुलको माला खादा हालेर स्वागत गरिएको हो । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायत यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने उदेस्यले महोत्सवको आयोजना गरिएको भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीले जानकारी दिनुभयो ।
गड्डचौकी नाका भनेको विदेशी पर्यटकहरुको प्रवेश द्धार भउकाले पनि यो क्षेत्रमा आज सरसफाई गरिएको बताउनु भयो । साथै उहाँले यसलाई पर्वको रुपमा पर्यटन प्रवद्र्धन गर्नका लागी पर्यटकहरुलाई बढी भन्दा बढी शुक्लाफाँटमा घुमाउने उदेस्य रहेको बताउनु भयो । महोत्सवको पहिलो दिन चैत्र ६ गते शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र रहेको रानी ताललाई सरसफाई गरीएको थियो दोस्रो दिन चैत्र ७ गते पश्चिमी सिमा नाका गड्डाचौकीमा सरसफाई कार्यक्रम गरिएको र भारतबाट भएर आउने पर्यटकहरुलाई स्वागत कार्यक्रम गरिएको उहाँले बताउनु भयो ।
यस्तै चैत्र ८ गते आज बाह्रसिङगा मैत्रीपूर्ण फुटबलको आयोजना गरिने भएको छ र महोत्सव अवधी भरमा शुक्लाफाँटा घुम्न आउनुहुने सबै पर्यटकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था पनि रहेको पर्यटन विकास समितिका उपाध्यक्ष केसीले बताउनु भयो । ‘विश्वमै दुर्लभ जीवजन्तु पाइने शुक्लाफाँटा हामीसँग छ, यसको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यका रूपमा विकास गर्न जरुरी छ’, ‘यसका लागि सबैले आ–आफ्नो तर्फबाट पर्यटन प्रवर्द्धनमा लाग्न जरुरी रहेको नगर प्रमुख पदम बोगटी बताउनु भयो ।
३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाह्रसिंगेको झुण्ड सबैभन्दा आकर्षक मान्ने गरिएको छ । निकुञ्जमा जम्मा दुई हजार ३४० बाह्रसिंगे छन् । अहिले निकुञ्जमा पाटे बाघ, हात्ती, गैडा, र घडियाल गोही पनि अवलोकन गर्न पाईन्छ ।