तिलकपुरमा स्थानिय बिष्ट ड्रागन फ्रुटको खेतीमा रमाउँदै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ तिलकपुरका राजेन्द्र बहादुर बिष्ट ड्रागन फ्रुटको खेतीमा लागेका छन् । यसै साल नेपाली सेनाबाट अवकाश प्राप्त बिष्टले आफ्नै घरको बारीमा ड्रागन फ्रुटको खेतीको सुरुवात गरेका हुन्। हाल उनले एक कट्टा जमिनमा ड्रागन फ्रुट लगाएका छन् । कञ्चनपुरका पत्रकार एवम् कौसिबारीका अभियन्ता धनसिंह धामीले कञ्चनपुरमा पहिलो पटक ड्रागन फ्रुटका बिरुवाहरू खेती गर्न इच्छुकहरूलाई निशुल्क वितरणको अभियान सुरु गरेका थिए ।

बिष्टले पनि अभियन्ता धामीदेखि नै ५० विरूवा ल्याएर खेतीको सुरुवात गरेका हुन् । कृषिमा केही गर्नुपर्छ, जागिरबाट अवकाश भइसकेपछि पनि समाजमा आफ्नो सक्रिय भूमिका रहनुपर्छ भन्ने उद्देश्यका साथ ड्रागन फ्रुट खेतीको सुरुवात गरेको बिष्टको भनाइ रहेको छ । उनले भने ’कृषिमा केही गर्नुपर्छ भन्ने सोच मनमा थियो, ड्रागन फ्रुट स्वास्थ्यका लागि पनि राम्रो भएको हुँदा मैले ड्रागन फ्रुटको खेती गर्नुपर्छ भन्ने लाग्यो र हाललाई एक कट्टा जमिनमा यसको सुरुवात गरेको छु ।’

साथै बिष्टले पाँच कट्टा जमिनमा ड्रागन फ्रुटको खेती गर्ने आफूले योजना बनाएको बताएका छन् । कौसिबारीका अभियन्ता धामीले कृषि गर्न इच्छुक युवाहरूलाई आफूले सहयोग गर्ने बताएका छन् । उनले भने ’ड्रागन फ्रुट लगाएर खेती गर्न इच्छुक सबैलाई सहयोग गर्नेछु र ड्रागन फ्रुटको विरूवा निशुल्क वितरण गर्नेछु।’ साथै उनले कञ्चनपुरका विभिन्न व्यक्ति, सहकारी संस्था, वडा कार्यालय लगायतलाई समेत निशुल्क ड्रागन फलका विरूवाहरू वितरण गरेको बताएका छन् र आगामी दिनमा समेत यो अभियान निरन्तर जारी रहने उनको भनाइ रहेको छ ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.