महेन्द्रनगर । सुदूरपश्चिममा अहिले असत्यमाथि सत्यको विजय उत्सवका रुपमा मनाइने होली पर्वको रौनकता छाएको छ । कञ्चनपुरको महेन्द्रनगर बजारमा पनि अहिले पत्रकारहरुले मौलिकता बोकेको होली पर्व मनाई रहेका छन् । चैत्र ९ गतेदेखी बजार क्षेत्रमा विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका सञ्चारकर्मीहरुले होली पर्व मनाउन सुरु गरेका हुन् ।
वसन्त ऋतु आगमनको उल्लाससँगै होली पर्व मनाउनका लागी अहिले विभिन्न सञ्चार माध्यममा आवद्ध रहेका सञ्चारकर्मीहरुले होली पर्व मनाई रहेको पत्रकार महासंघ कञ्चनपुर शाखाका सचिव राजेन्द्र अवश्थीले बताउनु भयो । आफनो समुहले उल्लास र उमंग सञ्चार गर्न र होली आएको संकेत गर्न केही दिन अघिदेखि मादल झ्याली बजाउँदै सुदूरपश्चिममा गाईने होलीको गित गाएर नै आफुहरुले होली मनाई रहेको बताउनु भयो ।
आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा रहेको उहाँले बताउनु भयो । अहिले गाउँघरमा बढ्दो आधुनिकताले रङैरङको पर्वका रूपमा मनाइने होली अर्थात् फागु पूर्णिमा पर्वको परम्परागत महत्व र रौनक हराउँदै गएको सुदूरदर्पण दैनिक पत्रिकाका संचालक भाष्कर केसीले बताउनु भयो ।
गाउँघरमा साथीभाइ, आफन्त जम्मा भई घरघरमा मौलिक गीत गाउँदै नाच्दै होली (फागु) खेल्ने चलन पछिल्लो समय हट्दै गएको भएर यो वर्ष सञ्चारकर्मी साथीहरुले मौलिकतासहितको होली पर्व मनाइएको बताउनु भयो । मौलिक परम्परा, संस्कार संस्कृतिभन्दा माथि उठेर भड्किलो पाराले होली मनाउने संस्कार गाउँमा भित्रिन पुगेकाले परम्परागत संस्कृति हराउन नदिन यो वर्षको होली मनाइएको टिभी टुडेका जिल्ला सम्वादाता राजेन्द्र विष्टले बताउनु भयो ।
होली आउनु एक– दुई दिन अगाडि नै मादल, झ्यालीलगायतका विभिन्न परम्परागत वाद्यवादनका तालमा होली गीत गाउने र नाच्ने गरेर यो पर्व मनाई रहेको उहाँले बताउनु भयो । होली पर्व अथवा फागु पूर्णिमा खासगरी नेपाली तथा भारतीयहरूले प्रत्येक वर्षको फाल्गुण शुक्ल पूर्णिमा दिनमा मनाइने हिन्दूहरूको प्रमुख चाड हो । हिन्दू संस्कृति अनुसार यसको इतिहास त्रेता युग सँग जोडिएको छ ।
त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रह्लादसंग यस चाडलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी (प्रल्हादकी फुपु ) होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आँफै आगोमा भष्म भएकी थिइन र बिष्णु भक्त प्रल्हादलाई केही नभएको त्यही दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो ।
होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ ।
सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा–युवतीहरू गीत गाउँदै–नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक–अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।
Comments are closed.