महेन्द्रनगर । वेदकोट नगरपालिकामा स्वास्थ्य सम्बन्धी अर्ध वार्षिक समिक्षा कार्यक्रमको आयोजना गरिएको छ । मंगलवार र बुधवार गरी २ दिन सम्म संचालन हुने उक्त कार्यक्रममा स्वास्थ्य शाखाले गरेको कार्यहरुको ६ महिनामा देखिएको प्रगतीहरुको विषयमा छलफल भएको छ ।
वेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले सुडा स्वास्थ्य चौकी, हरपाल आधारभुत स्वास्थ्य सेवा केन्द्र र रडाहा आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुखहरुले आफनो प्रगति विवरणहरु प्रस्तुत गर्नु भएको बताउनु भयो । खोप, परिवार नियोजन, सुरक्षित मातृत्व, ग्रामिण अल्टासाउन्ड सेवा, क्षयरोग कुष्ठ, कालाजार औलो लगायतका विषयमा प्रगती विवरणहरु प्रस्तुत गरिएको थियो ।
सुडा स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर संचालनमा भौतिक पूर्वाधारको अभाव रहेको बताएका थिए । उक्त क्षेत्रमा भवनको व्यव्स्थापन भएको र केही दिनमा हस्तान्तरण भई बर्थिङ सेन्टर संचालनमा आउने स्वास्थ्य शाखा प्रमुख पालले बताउनु भयो ।
यस्तै हरपाल आधारभुत स्वास्थ्य सेवाबाट ल्याब संचालनमा ल्याउनु पर्ने माग आएको र यो विषयमा थप छलफल गरिने भएको छ । यो पछिल्लो ६ महिनामा कुष्ठरोगको नयाँ विरामीहरु फेला नपरेको पाइएको छ ।
कार्यपालिका सदस्य, स्वास्थ्य संस्थाका प्रमुखहरु, स्वास्थ्य कार्यालयका प्रतिनिधी, पत्रकार लगायतको उपश्थिती रहेको थियो ।