महेन्द्रनगर । कञ्चनपुरको वेदकोटमा रहेका डगौराहरुले आफनो बडका पुजा (कुल पुजा) सम्पन्न गरेका छन् । करिब ८५ वर्षपछि उक्त वेदकोट नगरपालिका ९ लालपुरमा रहेका स्थानिय र अन्य क्षेत्रमा बसोबास गरिरहेका डगौराहरुले उक्त पुजा सम्पन्न गरेका हुन् ।
कनगैया कुश्मी थारु समुदायले आफनो परिवारका सदस्यहरुमा कुनैपनि किसीमको समस्या नआउन दिन, सबै समस्याहरुको समाधान होस भनेर यो पुजाको आयोजना गरिएको कनगैया कुश्मी थारु समुदायका धिरेन्द्र डगौराले बताउनु भयो । दैविय अलौकिक शक्तिका अनुसार गुरवाहरुले भने बमोजिम र आवस्यक पर्ने सरसामग्रीहरु जुटाएर घरभित्र रहेकमा कुल देवतालाई बंगुर कुखुराहरु पुजा गरेर बाहिर राँगाको जोडी बोका र कुखुराहरु पुजा गरी सुनको छाता, झण्डा त्रिशुल चडाएर बडका पुजा गरिएको जानकारी दिनु भयो ।
साथै यो पुजाले परिवारमा भएको विभिन्न समस्याहरुलाइ पार लगाईदिन र सुख आवस दुख जावस भनेर भगवानहरुलाइ प्रार्थना गरी सबै पुजाका सामान चढाएर पुजा सम्पन्न गरिएको उहाँले बताउनु भयो । आफनो इष्टमित्रहरुलाइ बोलाएर खाना खुवाएर ससम्मानका साथ पुजा गरिने उहाँले बताउनु भयो ।
भीमदत्त नगरपालिका १९ बागफाटाका गुरुवा रुन्चे चौधरीले आफनो परिवारमा रहेका बालबच्चाहरु, आफनो घरवार राम्रो होस र विदेशमा रहेका आफना आफन्तहरुको स्वास्थ्य अवस्था राम्रो होस भनेर यो पुजा गरिएको बताउनु भयो ।
कैलाश पर्वतमा रहेका देवीदेवतालाई सुखी पार्दै मानवको सुरक्षाका लागि पुजा गर्दै आएको बताए । ‘घरका सदस्यको उच्च सुरक्षा र सम्बृद्धिको कामनाका लागि हामीले कुलपुजा गर्दै आएका छौँ, ‘उनले भने, ‘पित्रलाई प्रशाद छुट्टाएर पछि हामीहरु उपभोग गर्दै आएका छौँ ।’ थारु समुदायकी अगुवा जगतपती डगौराले उत्सवकै रुपमा कुल पुजा गरेर मानवको बृद्धि विकासको कामना गर्दै आएको बताईन । गाँउमा ढिलै भएपनि कुल पुजन भएपछि डगौरा थारु समुदाय हर्षित भएका छन ।