महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिकामा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको छ। बेलौरी नगरपालिकाको सभाहलमा ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि अभिमुखीकरण गरिएको हो। स्वास्थ्य निर्देशनालय राजपुर डोटी, स्वास्थ्य कार्यालय कञ्चनपुर, एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा अभिमुखीकरण गरिएको हो।
कार्यक्रममा उद्देश्यबारे प्रकाश पार्दै स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशीले विभेद तथा लाञ्छनाका कारण प्रभावित व्यक्तिहरू आफै स्वास्थ्य संस्थामा उपचारको लागि नआउने गरेको पाईएको बताउनुभयो। उहाँले कुष्ठरोग निवारणका लागि लेप्रोसी पोस्ट एक्सपोजर प्रोफालेक्सिसका रूपमा अभियान सञ्चालन गरिने बताउनुभयो।
उहाँले अभियान सञ्चालन पूर्व जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूलाई अभिमुखिकरण गरिएको बताउनुभयो। नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा सञ्चालित कुष्ठरोग रोकथाम परियोजनाका संयोजक राजिब अवस्थीले कुष्ठरोग रोकथाम कार्यक्रमको प्रक्रियाबारे जानकारी र नयाँ रोग पहिचानका लागि प्रभावकारी स्क्रीनिङ्को सिकाईका लागि स्वास्थ्यकर्मीहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो।
उहाँले पालिकाको नेतृत्वमा सञ्चालन हुने यस कार्यक्रमबाट समाजमा लुकेर बसेका रोग पहिचान हुने साथै लक्षण चिन्ह नदेखिएका व्यक्तिहरूलाई एक खुराक रिपाम्पिसिन खुवाएर कुष्ठरोगको संक्रमण रोकिने विश्वास व्यक्त गर्नुभयो। स्वास्थ कार्यालय कञ्चनपुरका क्षयकुष्ठ अधिकृत उद्धवबहादुर ठगुन्नाले सहजिकरण गरेको कार्यक्रममा सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझा, एनएलआर नेपालका बिमल चलाउने तथा एनएनएसडब्ल्यूएका मानबहादुर महराले ब्ल्याङ्केट कन्टेक्ट एप्रोजमा कुष्ठरोग रोकथाम घरदैलो अभियान सञ्चालनका लागि अभिमुखीकरण गर्नुभएको थियो।
कार्यक्रममा बेलौरी नगरपालिकाका उपमेयर जोगराम राना, स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशी, क्षयकुष्ठ अधिकृत उद्धवबहादुर ठगुन्ना, स्वास्थ्य निर्देशनालय डोटीका क्षय तथा कुष्ठरोग अधिकृत मनोज ओझा, एनएलआर नेपाल तथा एनएनएसडब्ल्यूएको टीम, जनप्रतिनिधि साथै विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।