मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिकै २ जनाको दाबी पेस

महेन्द्रनगर । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागी नागरिक उन्मुक्ती पार्टीकै २ जनाले दावी पेस गरेका छन् । मुख्यमन्त्रीका लागी दावी पेस गर्न प्रदेश प्रमुख नाजिर मियाले समय दिएको अन्तिम दिन उन्मुक्तीकै दुई प्रदेशसभा सदस्यहरुले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् ।

उन्मुक्तीमा संरक्षक रेशम चौधरी पक्षका लक्ष्मण किसोर चौधरी र अध्यक्ष रञ्जिता पक्षका कैलास चौधरीले मुख्यमन्त्रीमा दावी पेस गरेका हुन् । मुख्यमन्त्रीका लागि दोहोरो दाबी परेपछि मुख्यमन्त्री नियुक्तिमा सकस परेको छ । नाउपाका सांसद चौधरी र श्रेष्ठ पक्ष विभाजित छन् । श्रेष्ठ केन्द्रीय सत्ता गठबन्धनमा छन् भने रेशम त्यसको विपरीत छन् । रेशम पक्षधरलाई कांग्रेसले सहयोग गरेको छ ।

त्यसमा राप्रपा र एकीकृत समाजवादीकोपनि समर्थन छ । कैलाश चौधरीलाई एमाले र माओवादीको समर्थन छ । दोहोरो दाबी परेपछि आज मुख्यमन्त्री नियुक्ति नहुने सुदूरपश्चिम प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले बताए । ‘दोहोरो दाबी परेको छ । अब अध्ययन गरेर मात्रै प्रदेश प्रमुखले निर्णय लिनुहुन्छ’, ढुङ्गानाले भने, ‘त्यसैले आज मुख्यमन्त्री नियुक्ति सम्भव भएन ।’

केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति लगाएतका दलहरूको गठबन्धन रहेका बेला प्रदेशमा काँग्रेस, समाजवादी, नागरिक उन्मुक्ति र राप्रपाको रेशम चौधरी पक्षधरले अर्काे गठबन्धन गरेका हुन्। सुदूरपश्चिम सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम लाल चौधरी पक्ष तथा राप्रपाको अलग्गै समझदारी बनेको हो।

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाबिच समझदारी बनेपछि लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टी एक राप्रपाका प्रदेश सभा सदस्यहरू एक भएका हुन्।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक २६ मत उनीहरूको पुग्ने भएको छ। नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन्। उनीहरू अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका हुन्।सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको छ।

नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन्। सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन्। अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.