महेन्द्रनगर । एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता दीर्घबहादुर सोडारीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ ।बुधबार बसेको सचिवालय बैठकले दल नेता सोडारीको नेतृत्वमा सरकार गठन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । सत्ता गठबन्धनमा संकट आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिन तयार भएका थिए ।
त्यसअनुसार एकीकृत समाजवादीका दल नेता सोडारीले बुधबार बिहानै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका थिए । तर केन्द्रबाट निर्देशन नआएको भन्दै एमाले नेताहरू बिहान बैठकमै गएनन् । सत्ता गठबन्धनका नेताहरूले सोडारीलाई मुख्यमन्त्री बनाउन एमाले नेताहरू तयार नभएको बताएका छन् ।
तर सुदूरपश्चिममा एमाले संसदीय दलका नेता राजेन्द्र रावलले भने सरकार गठनबारे पार्टी नेतृत्वले कुनै निर्देशन नदिएकाले अहिले केही निर्णय नभएको बताएका छन् ।सोडारी २०७४ देखि नै सुदूरपश्चिमको मन्त्री बन्दै आएका थिए। यद्यपि पहिलो कार्यकालमा भने उनी विवादित बने। तत्कालीन नेकपाले उनीमाथि कारबाहीको डन्डा चलाएको थियो। एक जना महिलासँगको संवादका कारण उनी २०७५ कात्तिक २७ गते सामाजिक विकासमन्त्री पदबाट हटाउँदै पार्टीबाटसमेत ६ महिनाका लागि निलम्बन गरेको थियो।
नेकपा विवादको उत्कर्षमा पुगेका बेला उनको प्रचण्ड–माधवकुमार नेपाल समूहले कारबाही फुकुवा गरेको थियो । पछि उनी भौतिक पूर्वाधार मन्त्री बनेका थिए। २०७९ को प्रदेश सभा निर्वाचनपछि भने सोडारी प्रदेश संसदीय दलको नेता बनेका छन्। समाजवादीले मंगलबार कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्तिका लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
प्रदेश प्रमुख नजीर मियाँले नागरिक उन्मुक्तिकै दुई सांसदको दाबी पेस भएपछि निष्कर्षमा पुग्न नसकिएको जनाउँदै बिहीबार बेलुकी ५ बजे सम्मको म्याद दिएर संविधानको धारा १६८ (२) अनुसार दोस्रो पटक सरकार आह्वान गरेका छन् ।
Comments are closed.