महेन्द्रनगर । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई नियुक्त गर्दाको सक्कल फाइल मागेको छ । न्यायाधीश बालकृष्ण ढकालले प्रारम्भिक सुनुवाइ पछि सो आदेश गरेका हुन् । मुख्यमन्त्री नियुक्तिविरुद्ध परेको रिटमा पूर्ण सुनवाइका लागि वैशाख २३ मा पेशी निर्धारण गर्न न्यायाधीश ढकालको इजलासले आदेश गरेको छ ।
सर्वोच्चको आदेशमा भनिएको छ, ‘वैशाख २० गते दिउँसो ४ बजेभित्र दीर्घ बहादुर सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेको कागजातको सक्कल फाइल साथै राखि लिखित जवाफ पेस गर्नु भनी यो आदेश र रिट निवेदन पत्रको प्रतिलिपि साथै राखी विपक्षीहरूका नाउँमा म्याद सूचना जारी गरी तामेल गर्नु गराउनू ।’
एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्री पदबाट नियुक्ति बदरको माग गर्दै नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले रिट दायर गरेका हुन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीको वारेसमा गोविन्द चौधरीले आइतबार रिट दायर गरेका थिए । उनले नागरिक उन्मुक्ति पार्टिको संसदीय दलको वैधानिक पत्र बेगर नै विपक्षी सोडारीलाई मुख्यमन्त्री पदमा भएको नियुक्त गैह्रसंवैधानिक रहेको दाबी गरेका छन्।
चौधरीले मुख्यमन्त्री पदमा आफूलाई नियुक्ति दिई सपथ ग्रहण गराउनु भनी विपक्षीहरुको नाउमा परमादेश दिन माग गरेका छन् । निवेदनमा भनिएको छ, ‘प्रस्तुत रिट निवेदनको अन्तिम किनारा लाग्दा उपरोक्त अनुसारको उपचार पाउने भएतापनी तत्काल विपक्षिहरुको गैरसंवैधानिक कार्य रोक नलागाउने हो भने निवेदकको हकको हनन गर्ने क्रियालाई विपक्षीले थप चर्काउन सक्ने हुदा तत्कालिक न्याय, अपुरणीय क्षति, सुविधा र सन्तुलनको सिद्धान्त, यस सम्मानित अदालतबाट यस अघि अवलम्वन गरी आएको न्यायिक पद्दतिको अनुसरण एवम सर्वोच्च अदालत नियामावलि, २०७४ को नियम ४९ समेत वमोजिम विपक्षिको मिति २०८१÷०१÷०४ का दिन प्रकाशित गरिएको विज्ञप्ति सूचना मुख्यमन्त्री पदमा नियुक्त गर्ने गरेको निर्णय कामकारबाही तत्काल कार्यान्वयन नगर्नु नगरउनु पुर्वावस्था कायम गरी मलाई नियुक्त गर्न भनी अन्तरिम आदेश जारी गरिपाउँ ।
साथै प्रस्तुत विषय निरन्तर सुनुवाईमा राखि शिघ्र निरुपण पूर्वावस्था कायम गरी मलाई नियुक्त गरिपाउँ।’ प्रदेश प्रमुख नजिर मियाँले तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि दाबी पेस गर्न २०८१ वैशाख २ गतेसम्म समय दिएका थिए।
उक्त समयमा वैशाख २ गते सत्ता गठबन्धनलाई चुनौती दिदै का्ग्रेसका १८, समाजवादीका ४, राप्रपाका १ र नागरिक उन्मुक्तिका ७ जना प्रदेश सभा सदस्यको समर्थन रहेको भन्दै उन्मुक्तिका लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
Comments are closed.