महेन्द्रनगर । कञ्चनपुरमा भएको वर्षात पछि आएको बाढी र डुबानका कारण साढे ४ हजार हेक्टर भन्दा बढीको खेतीबाली नोक्सान भएको छ । धान, उखु, मकै र तिललगायतका बाली नोक्सान भएको स्थानीय तहहरुले संकलन गरेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा गरी ३ हजार हेक्टर भन्दा बढीको धानखेती कटान र पटानले नोक्सान भएको कृषि शाखाले जनाएका छन् ।
पुनर्वास, बेलौरी र दोधारा चाँदनी नगरपालिका तथा बेलडाडी र लालझाडी गाउँपालिकामा बढी मात्रामा क्षति भएको छ । ‘अब रोपाँई गर्ने समय पनि छैन, छरुवा धानको बिउ पनि पाइदैन,’ दोधारा चाँदनी नगरपालिकाको कृषि शाखा प्रमुख कमलापति भट्टले भने, ‘अब भटमास, मास, मुङ र तिल छर्न सकिन्छ ।’ उनका अनुसार कृषि ज्ञान केन्द्रबाट उपलब्ध भएको भटमास कृषकहरुलाई वितरण गरिएको छ । हिलो नभएको ठाउँमा छर्न सकिने भए पनि धेरै ठाउँ अहिले पनि हिलो भएका कारण दलहन तथा तेलहन बाली समेत छर्न सकिने अवस्था नरहेको भट्टले बताए ।
दोधारा चाँदनी नगरपालिकामा जोगबुडा नदीको बाढीले कुतियाकभर, सुन्दरनगर, कञ्जभोज र पटेराखल्लालगायतका बस्तीमा क्षति गरेको थियो । कृषि शाखाका अनुसार डुबान र कटानले २ सय ६६ हेक्टरको धान, ६ हेक्टर मकै, ७ हेक्टरको तरकारी र २ हेक्टरको तिल कटान र पटानले नष्ट भएको छ । ‘तीन विघामा लगाएको परवल र तरुल सबै बालुवाले पुरिएको छ,’
दोधारा चाँदनी नगरपालिका–१० कुतियाकभरका खडक बुढाले भने, ‘जमिन भाडामा लिएर लगाएको तरकारी सबै बालुवाले पुरियो, अब बीउको खर्च पनि कसरी तिर्ने रु’ उनले ३ विघा जमिन भाडामा लिएर तरकारी र धान खेती गरेका थिए ।बढीका कारण भीमदत्त नगरपालिका साढे ४ सय हेक्टर, ४ सय, बेलौरीमा ५ सय र पुनर्वासमा ४ सय हेक्टरको धानखेती नष्ट भएको कृषि शाखाले जनाएका छन् ।
यसैगरी बेलौरीमा करिब २ सय हेक्टर, पुनर्वासमा ३ सय, बेलडाँडीमा ५० र लालझाँडीमा २ सय हेक्टरको उखु समेत नष्ट भएको छ । ‘सबै विवरण संकलन भइसकेको छैन, वडाबाट विवरण आउने क्रममा छ,’ बेलडाँडी गाउँपालिकाका कृषि शाखा प्रमुख निरज शर्माले भने, ‘प्रारम्भिक विवरण आएको छ, क्षतिको अवस्था अझ थप हुन सक्छ ।
’बेलडाँडी–५ इमिलियामा चौधर नदीले महाकाली सिँचाइ आयोजना दोस्रो चरणको नहरको बाँध फोडेर बस्तीमा पसेको छ । जसका कारण गाउँपालिका पूरै डुबानमा परेको थियो । बेलडाँडीसँगै बेलौरी नगरपालिका समेत चौधर नदीको बाढीका कारण डुबानमा परेको थियो । पुनर्वास नगरपालिका–८ मा गत वर्षझै यसवर्ष पनि धान सुकेको छ । कृषि शाखा प्रमुख कर्णबहादुर शाहीका अनुसार खेतमा जमेको पानी पनि कालो देखिएको छ । उक्त क्षेत्रमा पटान नभए पनि धान सुकेको छ ।
गत वर्ष सोही पुनर्वास–५ सिमरी, ७ परासनलगायतमा केमिकल मिसिएको पानीका कारण करिब १ सय हेक्टरमा लगाएको धान र ५० हेक्टरको उखु नष्ट भएको थियो ।