आज तराईबासी रानाथारु समुदायमा तीजको रौनक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको तराईबासी रानाथारु समुदायमा तीजको रौनक सुरु भएको छ । आज श्रावण शुक्ल तृतीयाका दिन मनाउने तीजको एक दिन अगावैबाट यो समुदायमा पर्वको चहलपहल सुरु भएको थियो । रानाथारु समुदायका महिलाले आफ्नो दाजुभाइ र भतिजाको दीर्घायुको कामना गर्दै तीज व्रत बस्ने चलन छ ।

यो समुदायको तीज आज परेको छ । पर्वको अवसर पारेर रानाथारु गाउँमा सामनको डोलामा रमाउने कार्य भइरहेको शुक्लाफाँटा नगरपालिका १२, कालागौडीका शिक्षक तथा स्थानिय गेदुराम रानाले बताउनुभयो । उहाँका अनुसार तीजको दिन महिला दिदीबहिनीहरु दिनभरि व्रत बस्ने र पूजाआजा गरेर सिमही, पुरी, गुलगुला, पकौडा, पपरा लगायतका परिकार खाएर रमाउने चलन रहेको छ ।

थारु बस्तीमा हरेक वर्ष साउनमा मनाइने तीज पर्वमा डोला हालेर मौलिक पहिरनमा सजिएर महिलाहरु पिङ खेल्दै रमाउने चलन छ । यो हिन्दू महिलाहरुले मनाउने तीज भन्दा बेग्लै पर्व हो । यो पर्वमा डोला खेल्ने क्रममा महिलाहरुले गीतको माध्यमबाट दाजुभाइ र उनीहरुका छोराको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने गरेको उहाँले बताउनु भयो ।

स्थानीय रामदुलारी दासीका अनुसार यो पर्वमा किशोरी तथा महिलाहरुले निराहार ब्रत बस्ने गर्छन् । ‘यो पर्व थारु दिदीबहिनीहरुका लागि सबैभन्दा महत्वपूर्ण हो । दुःख बिर्सिएर भएपनि छोरीबेटी माइतीघर जाने, मिठोमसिनो खाने, डोला खेलेर रमाउने गर्छन्,’ रामदुलारीले भन्नु भयो, ‘दाजुभाई र भतिजाको दीघार्युको कामना गर्दै निरहार ब्रत बस्ने गरेका छन् ।’यो पर्वमा माइती पक्षले दिदीबहिनीलाई दान, दक्षिणा दिने प्रचलन पनि छ ।

गाउँ धनगढीका भलमन्सा भज्जी रानाले साउनको पूर्णिमादेखि डोलाको सुरुवात गर्दै तृतीयाको दिन तीज पर्व विधिवत रुपमा समापन हुने गरेको सुनाउनु भयो । साउनको पूर्णिमाका दिन सबै सामग्री जुटाएर गाउँघरका दाजुभाइले मिलेर दिदी बहिनीका लागि डोला हालिदिने चलन छ ।

तृतीयाको दिनमा थारुका मौलिक परिकार पकाउँछन् । साँझ डोलामा लगाइएको डोरी काटेर नदीमा लगेर पूजापाठ गरेर बिर्सजन गर्छन् ।’ रानाथारु समुदायले विशेष महत्वका साथ मनाउने तीज पर्व २०८१ को अवसरमा आज साउन २३ गतेका दिन कञ्चनपुरको बेलौरी, पुनर्वास र लालझाडीमा स्थानीय बिदा दिइएको छ ।

तीज पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगरी यस पर्वलाई सभ्य, भव्य तथा आर्थिक रुपमा मितव्यायी बनाउन समेत स्थानीय तहहरूले आग्रह गरेका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.