कञ्चनपुर रेबिजको रेड जोनमा, छाडा कुकुरको तथ्याङक संकलन हुने

महेन्द्रनगर । सुदूरपश्चिमका नौ जिल्ला मध्ये कञ्चनपुरमा धेरै रेबिज पुष्टि भएपछि जिल्लालाई रेड जोनमा राखिएको छ । अन्य जिल्लाको तुलनामा संकलन गरिएको नमुना मध्ये सबै भन्दा बढी कञ्चनपुरमा रेबिज देखिए पछि जिल्लालाई रेड जोनमा राखिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगत ईपिडिमियोलिोजी तथा रोग नियन्त्रण महाशाखाले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरलाई एक पत्र पठाएर जिल्लामा रहेका कुकरहरुको तथ्याङक एकिन गरी पठाउन भनेको छ । उक्त पत्रमा सुदूरपश्चिममा कञ्चनपुरमा सबै भन्दा बढी रेबिज पुष्टि भएको उल्लेख गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कञ्चनपुरका सुचना अधिकारी खडक बहादुर पाण्डे जानकारी दिनुभयो ।

सोमवार उक्त पत्र आएको र अबको दिनमा जिल्लामा रहेका ९ वटा पालिकाबाट छाडा कुकुर र रेबिजको लक्षण भएका पशुपंक्षीको तथ्याङक संकलनको काम हुने उहाँले बताउनु भयो । सात पहाडी जिल्लाको तुलनामा कञ्चनपुर र कैलालीमा रेबिज आउट ब्रेकको दर बढी देखिएको छ ।

कञ्चनपुरमा ६८ नमुना परीक्षण गर्दा ६३ मा रेबिज भएको पुष्टि भएको छ । रेविज बाट बच्ने एक मात्रै भनेको भ्याक्सिन रहेको बताउदै, किसानहरुले जनावर मरेको खण्डमा सुचना दिने र नमुुना संकलन गरेर कैलालीमा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीबाट टोली आएर परिक्षण गर्ने गरेको बताउनु भयो । सुदूरपश्चिममा कञ्चनपुर र कैलाली मा कुकुरमा सबैभन्दा बढी संक्रमण भेटिएको छ ।

गत वर्ष ७० वटा कुकुरमा रेबिज पुष्टि हुँदा ३१ वटा गाई÷गोरु, २३ वटा बाख्रा, २१ वटा भैंसी, बिरालो र स्याल समान २÷२ वटा र एक बदेलमा रेबिज पुष्टि भएको छ । छाडा कुकुरबाट रेबिज संक्रमण अन्य पशुमा फैलिने गरेको पशुचिकित्सकले बताएका छन् । छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्नुका साथै रेबिज विरुद्धको खोप समेत दिने गरिएको छ । सुदूरपश्चिम प्रदेशमा चौपायामा रेबिज संक्रमण दर बढ्दै गएको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा मात्रै १७९ चौपायामा रेबिज संक्रमण भएको पुष्टि भएको छ । गत वर्ष १८५ नमुना परीक्षण गरिएको थियो । सुदूरपश्चिममा तीन वर्षयता रेबिज संक्रमणको दर बढ्दै गएको पाइएको हो । २०७८ मा ४ पशूचौपायामा रेबिज संक्रमण पुष्टि भएकोमा २०७९ मा संक्रमण दर बढेर ३९ पुगेको छ ।

त्यस्तै, २०८० मा १७९ चौपायामा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीको तथ्यांकले देखाएको छ । गत वर्ष सुदूरपश्चिममा रेबिजको जस्तो लक्षण भएर मरेका १८५ चौपायाको मस्तिष्क नमुना परीक्षण गर्दा १७९ मा रेबिज पुष्टि भएको हो ।

शरद ऋतुमा सबैभन्दा बढी ५४ चौपायामा रेबिज भएको पुष्टि भएको छ भने वसन्त ऋतुमा ५३, हिउँद ऋतुमा ४९ र वर्षा ऋतुमा २३ चौपायामा रेबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको तथ्यांकले देखाएको हो। गत वर्ष मात्रै संघीय सरकार मार्फत सुदूरपश्चिममा २५ हजार डोज रेबिज विरुद्धक खोप वितरण गरिएको पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीले जनाएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.