महेन्द्रनगर । पश्चिम नेपालका थारु बाहुल्य जिल्लामा अट्वारी पर्व धुमधामका साथ मनाइँदैछ। अटवारी पर्व भाद्र कृष्ण अष्टमीपछिको पहिलो आइतबारका दिन मनाइन्छ । चौधरीका अनुसार अटवारी विशेषगरी दुई दिन मनाउने गरिन्छ । यो पर्वमा दाजुभाइले दिदीबहिनीका लागि व्रत बस्ने चलन छ ।
अटवारीको तयारी शनिबारसम्ममा पूरा हुनुपर्ने थारू अगुवा पञ्चराम चौधरी बताउनुहुन्छ । दुई दिन सम्म मनाईने अट्वारी पर्व बारे थारू समाजमा विभिन्न मत एवं धार्मिक विश्वास रहँदै आएको छ।द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारू समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आज दिनभरि भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ।
अर्कोथरी मत अनुसार भीमले थारू राजा दंगिशरणलाई युद्धमा सहयोग गरेका कारण उनको पूजाआजा, व्रत बस्ने चलन रहिआएको छ। दंगिशरण राजाले शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि हरेक वर्ष भीमको पूजाआजा गर्ने चलन चलेको थारू समुदायको विश्वास छ। अट्वारी पर्वमा दाजुभाइले दिदीबहिनीको रक्षाको कामना गर्दै पानी समेत नपिएर दिनभर निर्जल, निराहर व्रत बस्ने गर्दछन्।
वर्त बसेका बर्तालुहरुले फलफूललगायतका पकवान खानुपूर्व आफ्नो खानाबाट आधा भाग झिकेर अलग राख्ने प्रचलन छ। त्यसरी छुट्याएको परिकार विवाहित छोरीचेलीलाई कोसेलीको रूपमा उपहार दिने गरिन्छ। शनिबारको राति भिन्सर्या दर भात खाने चलन छ ।
आइतबार पहिलो दिन दिनभरि व्रत बसेर फलफूल र रोटीका परिकार बनाउने गरिन्छ भने दोस्रो दिन बिजोडी थरिथरिका तरकारीलगायत खानेकुरा पकाइन्छ । व्रत लिएर बेलुका पूजाको काम सकिएपछि छोरी, दिदीबहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ ।
त्यही परिकार लिएर दाजुभाइ विवाहिता दिदीबहिनीलाई भेट्न उनीहरूकै घर जान्छन् । अग्रासनलाई दिदीबहिनीले अत्यन्त महत्वका साथ लिने गरेको थारु अगुवा चौधरीले बताए ।
दाइभाइले दिदीबहिनीप्रतिको स्नेह दार्शाउने विशेष अवसर नै अटवारी हो । अग्रासन दिइसकेपछि यो पर्वको समापन भएको मानिन्छ । आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा पनि ‘अटवारी’लाई लिइने गरेको उनले बताए ।