महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम विश्वविद्यालयलाई नमुना विश्वविद्यालय बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभएको छ। मंगलबार सुदूरपश्चिम विश्वविद्यालयको १६औं स्थापना दिवसका अवसरमा महेन्द्रनगर कञ्चनपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

“कृषि, पर्यटन, धार्मिक टुरिजम क्षेत्रको विकास र प्रवद्र्धनको विषयमा अध्ययन अध्यापन हुनुपर्छ” मुख्यमन्त्री शाहले भन्नुभयो “रोजगारी र उत्पादन बढाउने र हाम्रो सीप र क्षमतालाई विश्व बजारमा लैजानु पर्छ । साथै उहाँले प्रदेश सरकार सुदूरपश्चिम विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको समेत स्पष्ट पार्नुभयो ।
कार्यक्रममा २५ वर्षदेखि निरन्तर कार्यरत ४३ जना कर्मचारी र प्रद्यापकलाई दीर्घ सेवा पदक एवं प्रमाणपत्र वितरण गरिएको थियो। सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७ (सन् २०१०) अनुसार नेपाल सरकारको लगानीमा संचालन हुने गरी सुदूरपश्चिम विश्वविद्यालय स्थापना भएको हो ।
विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकामा अवस्थित छ । स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्य अनुरुप विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ वटा आङ्गिक र देशभरि बिभिन्न स्थानका अन्य ३१ वटा सम्बन्धन प्राप्त क्याम्पस मार्फत उच्च शिक्षामा पहुँच पुरÞ्याउने जिम्मेवारी पुरा गर्दै आएको छ।
विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, कृषि, कानुन, प्राकृक्तिक स्रोत व्यवस्थापन र स्वास्थ्य विज्ञान गरी नौवटा सङ्कायहरू मार्फत स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहका विविध शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।
शैक्षिक उत्कृष्टता, अनुसन्धानमा आधारित शिक्षा, समुदायसँगको सहकार्य तथा साझेदारीलाई लक्ष्य बनाएको यो विश्वविद्यालय देशको एक प्रमुख शैक्षिक धरोहरका रुपमा स्थापित भएको छ। हाल विश्वविद्यालयमा ४६६ शिक्षक र २०१ कर्मचारी गरी जम्मा ६६७ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन्
भने हाल सम्म विभिन्न सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको संख्या १८,२९९ रहेको छ ।सुदूरपश्चिम विश्वविद्यालयले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक संस्था, विश्वविद्यालयहरू, स्थानीय तथा प्रादेशिक सरकारी निकायहरू, र अन्तर्राष्ट्रिय अनुसन्धान तथा विकास संस्थाहरूसँग समझदारीपत्र (ःयग्) मा हस्ताक्षर गरेर शैक्षिक उन्नयनमा महत्वपूर्ण कार्य गर्दै आएको छ ।
विश्वव्यापी शिक्षा प्रणालीमा आएको आमूल परिवर्तनलाई मध्यनजर गर्दै, विश्वविद्यालयले क्षमता विकास परियोजनाहरू र अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गरी विश्वविद्यालयको शैक्षिक उन्नयनमा सुधार गर्ने योजना बनाएको छ। यसले राष्ट्रको समग्र कल्याणको लागि सिकाइ प्रवद्र्धन र ज्ञानको प्रसार गर्ने लक्ष्य राखेको छ।
यसैले विश्वविद्यालयले नयाँ पाठ्यक्रमहरू सुरु गर्ने, शैक्षिक कार्यक्रमहरू सुदृढ गर्ने र अनुसन्धानमूखी कार्यक्रमहरू (एम.फिल. तथा पिएच.डी.) सञ्चालन गरी शैक्षिक नवीनता समाहित गर्ने प्रयास गरिरहेको छ। ज्ञान, अनुसन्धान र नवप्रवर्तनको केन्द्रका रूपमा विश्वविद्यालयलाई स्थापित गर्न तथा शैक्षिक उत्कृष्टता प्राप्त गर्दै समुदाय, प्रदेश, राष्ट्र र विश्वसमुदायको आवश्यकतालाई केही हदसम्म सम्बोधन गर्न विश्वविद्यालय प्रयासरत छ ।
अतः सुदूरपश्चिम विश्वविद्यालयलाई ज्ञान, अनुसन्धान र नवप्रवर्तनको गन्तव्यका रूपमा रूपान्तरण गर्ने सन्दर्भमा अहिले विश्वविद्यालय लागि परेको छ। गुणस्तरीय शिक्षा, अनुसन्धान, नवप्रवर्तन, सहकार्य र समुदायको सहभागिता मार्फत अनुकूल शैक्षिक वातावरण प्रदान गर्नु समेत विश्वविद्यालयको पहिलो प्राथमिकता रहेको छ ।
त्यसका लागि विश्वविद्यालयले आफ्ना रणनीतिक लक्ष्यहरु निम्नानुसार तर्जुमा गरेको छःविश्वविद्यालयको शैक्षिक वृद्धिसँगै भौतिक पूर्वाधार, सिकाइ स्रोतहरू र डिजिटल प्रविधिहरूको विकास गर्नु ।
सबैका लागि गुणस्तरीय शिक्षामा समान पहुँच प्रदान गरी ज्ञान, सीप, बौद्धिक अनुशासन र मानवीय मूल्यहरूबाट विद्यार्थीलाई समृद्ध बनाउनु ।ज्ञान, अनुसन्धान, नवप्रवर्तन र उद्यमशील सीपका लागि अवसर सिर्जना गर्दै अनुसन्धान, विकास र संस्थागत स्थायित्वका लागि सहकार्य तथा समुदायको सहभागिता प्रवद्र्धन गर्नु ।
शैक्षिक उत्कृष्टताको लागि शैक्षिक गुणस्तर अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्बन्धहरू प्रवद्र्धन गर्नु रहेका छन् ।
Comments are closed.