डडेल्धुरामा नाङगो तरवार नचाउने जात ‘बडाल जाँत’ सम्पन्न

महेन्द्रनगर । डडेल्धुराको गन्यापधुरा गाउँपालिका २ बडालस्थित जिल्लाकै ठूलो जाँत मध्येको ‘बडाल जाँत’ सम्पन्न भएको छ । शुक्रवार बेलुकीदेखि पूजाआजासँगै धार्मिक विधिवत रूपमा सुरु भएको जाँत शनिवार बेलुकी सम्पन्न भएको हो । कात्तिक शुक्ल दशमीको दिन राति (रतेडी) र दोस्रो दिन (दिउसेडी) लाग्ने परम्परा रहीआएको छ ।

तस्विर ः समाजसेवी विष्णु बोहरा

हातमा नाङगो तरवार र ढाल समातेर नाच्ने जातको नाममा पनि प्रख्यात रहेको यो जातमा भारतका विभिन्न क्षेत्रबाट पनि अवलोकनका लागि पुग्ने गरेका छन् । लाटा गन्याप देवताको भक्ति स्वरुप बनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले यस मेलाले सुदूरपश्चिममा प्रसिद्धी पाएको समाजसेवी विष्णु बोहराले बताउनु भयो ।

आफु पनि यो क्षेत्रमा विगत देखी जात हेर्न आउने गरेको बताउँदै यो मेलाको प्रमुख आकर्षण भनेको भोकर बाजागाँजा बजाएको, हातमा नाङगो तरवार समातेर नाचेको नै रहेको बताउनु भयो । शुक्ल नवमीका राति पूजा गरी, जाग्राम बसेर दोस्रो दिन बिहानदेखि लाटागन्याप देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहीआएको छ ।

दाइन, दमाह, रुइसिंग, भोकर बाजागाँजाका साथ स्थानीय हातमा ढाल तरवार खेलाई चौलो खेल्दै गाँज नचाई सकेपछि बडाल जाँत सम्पन्न हुने गर्दछ । प्राचीनकालदेखि चलिआएको छलिया जाँत हेरेपछि देवी देवताको दर्शन र आशिर्वाद प्राप्त हुने जनविश्वास रहेको छ ।

मेलामा स्थानीय अन्य गाँउबाट पनि देउरो ल्याउने चलन रही आएको छ । कुजाकोट, रुमायल, बडाल, थप्सालगायतको स्थानबाट देउरो आउने गरेको भएपनि मुल देउरो भने मालीगाँउबाट ल्याउने चलन रही आएको छ । डडेल्धुराका विभिन्न क्षेत्र, डोटी, बैतडी र भारतको उत्तराञ्चल प्रदेशबाट समेत भक्तजनले मेला भरेको पाईन्छ ।

ढाल तरवार खेलाइ नाचिने भएकाले बडालको चौलो सुदूरपश्चिमको एक पहिचान बनेको छ । यस मेलामा स्थानीयको उत्पादन पनि साटासाट हुने गर्दछ । मेलामा स्थानीय स्तरमा उत्पादित हस्तकलाका सामग्रीका साथै कृषि उपजको व्यापार समेत हुने गरेको छ ।

सम्बन्धित

Comments are closed.