कालापानी मार्चको त्यो स्मरण
यात्रा संस्मरण
–डा. केदारचन्द्र भट्ट
२०५५ साल जेठ ४ गते कञ्चनपुरको दोधारा चाँदनीको कुतियाकभरबाट देशभक्त नेपालीको ठूलो समूह धेरै झन्डा र ब्यानरसहित हिँडेको थियो महाकालीको किनारैकिनार। हिँड्दै गर्दा देशप्रति असीम उत्साह, उमंग र भारतप्रति ठूलो रोस थियो। त्यो बेला खुफिया एजेन्सीहरूको चलखेल र सक्रियता व्यापक थियो विशेषतः ‘र’ सीआईए तथा नेपालको अनुसन्धान विभाग बढी सक्रिय देखिन्थे। कतिपय प्रसंगमा नेपालीलाई नै ढाल बनाई भारत र अमेरिकाले सूचना लिइरहेका हुन्थे। अब कहाँ जान्छन् ? कसरी जान्छन् ? के गर्छन् ? कसलाई भेट्छन् ? किन गर्दैछन् ? कसले गराइरहेको छ ? जस्ता सामान्यदेखि लिएर गम्भीर खालका सूचना लिने र मनोवैज्ञानिक रूपमा डराउने दुवै हतियार प्रयोग गरेको दार्चुला खलंगा पुग्दासम्म प्रस्ट देखिन्थ्यो ।
दार्चुलाको खलंगाबाट २२ जनाको समूह कालापानीतिर प्रस्थान ग¥यौं। जेठ २१ गते हामी १८ दिन लगाएर कालापानी पुगेका थियौं। कालापानीलाई नेपालको हो भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा चिनाउने प्रेमसिंह धामीकी श्रीमती नन्दादेवी धामी, कञ्चनपुरका तत्कालीन जिविस सभापति ऋषिराज लुम्साली, दार्चुला जिविस सभापति गणेश सिङ ठगुन्ना, दीपक प्रकाश भट्ट, अधिवक्ता दयाकृष्ण पन्त, पदमराज पन्त, नरबहादुर धामी, गणेश धामी, निर्मल पाण्डे, कृष्णराज ओझा, ज्ञानेन्द्र गौतम, अशोक भट्ट, राजु जोशी, केशवराज गिरि, रविन सुवेदी, नागेन्द्र तिन्करीलगायत २२ जना थियौं । दार्चुला खलंगा पुगिसकेपछि खुफिया तौरतरिकामा धेरै अन्तर आयो। दार्चलावासीले कालापानीको मूल्य अपमान, डर, धम्की खाएर निरन्तर रूपमा चुकाइरहेका छन्। त्यो पीडा काठमाडौंले न हिजो बुझेको थियो न आज बुझेको छ र यथार्थमा बुझ्ने कोसिस पनि गरिरहेको छैन, औपचारिकतामा बाहेक । सुदूर पश्चिमलाई हेर्ने काठमाडौंको दृष्टिकोण परम्परादेखि आजसम्म बुझी नसक्नु छ, बयान गरी नसक्नु छ। यस्तो परिवेशमा दार्चुला एक्लिने नै भयो कालापानी ओझेलमा पर्ने नै भयो। त्यो बेला कालापानी जान पाइँदैन भनेर पारि धार्चुला भारतबाट फरकफरक तरिकाले खबर फैलाइयो। जसको मूल अभिप्राय हामीलाई कालापानी जानबाट रोक्नु थियो, डराउनु थियो। यो काम भारतका पाँचवटा गुप्तचर निकायहरूले अलगअलग तरिकाले गरिरहेका थिए । धेरै दिनको हिँडाइपछि कुन्तिसाङ भन्ने ठाउँमा बस्ने व्यवस्था भयो। धेरै साथी ओढारमा बस्यौं। हामीसँगै भेडा पनि थिए। भेडाको सुरक्षा गर्ने ठूला नश्लका भोटे कुकुर थिए। लामो हिँडाइले शारीरिक थकान थियो। भोलिपल्ट बिहानै हिँड्नुपर्ने थियो । बाटोभरिको भारतीय सेनाको व्यवहारले हाम्रो मन अलिकति आत्तिएको पनि थियो। कतै हामीलाई कालापानी पुग्न नदिने पो हुन् कि भनेर। सबै सम्भावना थिए। हल्ला चलाइएअनुसार हामीलाई पक्राउ गर्ने, कालापानी नपुग्दै पक्रेर लुकाइदिने, तावाघाट लग्ने, महाकालीमा बगाइदिने, खनेका सुरुङभित्र हालिदिने, गोली ठोकेर मारिदिनेजस्ता अनेक हल्ला चलेका र चलाइएका थिए । जेसुकै भए पनि हाम्रो पहिलो गन्तव्य कालापानी नै थियो। भारतीय सेनाबाट हामीले सकारात्मक अपेक्षा गरेका थिएनौं। आफूलाई बचाउँदै अगाडि जानुपर्छ भन्ने थियो भने भारतीय सेनाको हरकत हामीलाई जसरी पनि रोक्ने थियो। यसका लागि कञ्चनपुरदेखि नै प्रयत्न गर्दै आइरहेका र असफल हुँदै गइरहेका थिए ।
त्यही भएर ऊ कठोर भएर व्यवहार गर्दै थियो। भारतीय सुरक्षा निकाय दबाबमा पनि थियो किनभने यस्तो खालको प्रदर्शन र अवलोकन योभन्दा पहिला भएको थिएन। यसको आवाज गाउँ–गाउँ बस्ती–बस्तीसम्म पुगेको थियो। काठमाडौंदेखि दिल्लीसम्म पुगेको थियो भने चीनदेखि अमेरिका युरोपसमेत यसलाई नजिकबाट हेरिरहेका थिए । यो अब मात्र भारतको विषय थिएन। तब पनि ऊ हामीलाई दबाबमा राख्न चाहन्थ्यो बलियो थियो। हाम्रो केन्द्रीय सत्ता कमजोर थियो। यो मुद्दा मालेको हो भन्ने थियो। यसलाई जनताको मुद्दा बनाउन खोजेका थियौं र अप्ठ्यारो हुँदाहुँदै पनि सफल पनि भइरहेका थियौं । हामी जेठ २० गते सीता पुलनजिक गागा भन्ने ठाउँमा हाम्रो बस्ने व्यवस्था गरिएको थियो। हामी त्यहाँ पुग्दा स्थानीयको अनुहारमा अपेक्षाअनुसारको खुसी पाउन सकेनौं। प्रश्नवाचक, उमंगहीन जस्ता लागे। कहिले हामीसँग कुरा पनि गरे तर धेरै खुलेनन् । केही साथी आराम गर्न कोठामा बसे भने हामी केही नजिक घुम्न निस्कियौं। केही स्थानीयले नाम नबताउने शर्तमा त्यहाँको भूगोल र वस्तुगत अवस्थाका बारेमा यसरी वर्णन गरे, ‘यो क्षेत्र भारतभित्रको नेपाल हो, नेपालभित्रको नेपाल होइन। यहाँ नागरिकता र करबाहेक सबै कुरा भारतीय चल्छ। नीति, नियम व्यवहार पनि भारतीयको खटनपटनमा छन्। यहाँ भारतका धेरै गुप्चर बस्छन्। हिजोआज झन् बढेका छन्। केही नेपालीलाई पनि पैसा दिएर सूचना लिइराख्छन्। हामी थाहा नपाएजस्तो गर्छौं। सीतापुलमा नाम मात्रको प्रहरी चौकी छ। उनीहरूले भारतीय दबाबअनुसार काम गर्नुपर्छ । ’ नेपालका लागि काम गर्ने भनेको डीआईजी, एआईजीलगायत ठूला नेताहरूका लागि बहुमूल्य वस्तु पठाउने हो। दुवैतिरका तस्करहरूसँग दौत्य सम्बन्ध छ।
गरिब जनतासँग कानुनी सम्बन्ध छ। कालापानी भारतले खायो भन्छन्। दिने त नेपालकै ठूलावडा हुन् नि। हामीलाई भने मारमा पार्छन् भनेर आक्रोससहित कुरा गरे । प्रहरी चौकी र यसको ढुंगामा लागेको ठूला घाउ हेर्न आग्रह गरे। प्रहरी चौकीको ढुंगामा गोलीका डोब थिए। ती डोब कुनै लडाइँमा भएका थिएनन्। वन्यजन्तुको र जडीबुटीको अवैध तस्करी रोक्न केही मानिस र सामान प्रहरीले समातेका थिए । हामी नेपाली हो, कालापानी नेपाल हो भन्ने हामी छांगरुवासीलाई थाहा छ तर काठमाडौंलाई थाहा छैन। हामीले नेपाल बचाउन धेरै कुर्बानी गर्नुपरेको छ, खतरा मोल्नुपरेको छ। कुन बेला भारतीय सेनाले के गर्ने हुन् थाहा छैन तर पनि हामी डटेर लागेका छौं । त्यसको बदला लिन भनेर भारतीय सुरक्षाकर्मीको सहयोगमा प्रहरी चौकीमाथि गोली चलाइयो। संयोगवश कुनै भौतिक क्षति भएन। मनोवैज्ञानिक रूपमा प्रहरी धेरै कमजोर भए। माथिल्लो तहमा सही रिपोर्टिङसम्म गर्न सकेनन्। यो कुरा बाहिर पनि त्यति आएन । हामीले स्थानीयसँग बैठक गर्ने कोसिस ग¥यौं, तर कोही तयार भएनन्। यसलाई भारतीय दबाबको प्रतिक्रियाका रूपमा महसुस ग¥यौं। हाम्रो मूल लक्ष्य कालापानी थियो। आवश्यक भौतिक, मनोवैज्ञानिक र न रणनीतिक तयारी गरी हामी भोलि कालापानी पुग्ने प्रतीक्षामा सुत्यौं । जेठ २१ गते कालापानी जान हामी बिहान हिँड्यौं। तल्लो कौवाका ठूलो फाँट छिचोल्दै हामी मल्लो कौवाको ठूलो फाँटमा पुग्यौं। हामीलाई भारतीय सेनाले व्यापक दबाबमा राख्ने कोसिस गरिरहेको थियो । भारततिर भएका ससाना बुट्यान र झाडीमा सेना हतियारसहित तयारी अवस्थामा हामीमाथि निशाना लगाएर बसिरहेको प्रस्ट देख्न सकिन्थ्यो। हाम्रो मुटुको ढुकढुकी बढ्दै थियो। तैपनि धैर्यका साथ बढ्दै गयौं र कालापानीनजिकको डाँडोको एकछेउमा पुग्यौं । पारितिर सेना नै सेना छ। त्यो डाँडाको ढलानमा काँडे तार लगाएको टाढैबाट प्रस्ट देखिन्थ्यो। हामी त्यता जाँदै गर्दा भारतीय सेना हामीतिर आएर अगाडि जान नपाउने भनी तारबारभन्दा दुई सय मिटरवरै रोके। हामीले तपाईंको हाकिमसँग कुरा गर्छौं भन्दा मानेनन् । हाकिमले नै नआउन दिनू भनेको भनेपछि त्यसको प्रतिवाद गर्नबाहेक विकल्प थिएन । विवेकसम्मत ढंगले प्रतिवाद ग¥यौं, नाराबाजी ग¥यौं। धेरै बेरसम्म नाराबाजी गरिरहेपछि फेरि भारतीय सेनाले पुनः फिर्ता जान भन्यो । हामीले कालापानी हेरेर मात्र फिर्ता जाने भनेर अडान लियौं र जबसम्म हामी हेर्न पाउँदैनौं तबसम्म हामी यहीं बस्छौं। यो हाम्रो माटो हो। तपाईंहरू हामीलाई यहाँबाट हटाउन सक्नु हुन्न भनेर अड्डी कसेपछि काँडे तारतिर केही सेनाका अधिकृत देखा परे। दुईजनालाई मात्र बोलाउन सेना पठाए। हामीले दुईजनाले हुँदैन, कुरा गर्न बढी चाहिने भन्दै जबर्जस्ती गरेर ऋषिराज लुम्साली, गणेश ठगुन्ना, दीपक प्रकाश भट्ट, दयाकृष्ण पन्त र मसहित पाँचजना गयौं । नजिक पुग्दा सेनाले एकएक मात्रै भेट्ने भन्यो। हामीले मानेनौं, कुरा गर्न समूह नै चाहिन्छ। हामी लडाइँ गर्न आएका होइनौं, नहेर्नुपर्ने कुरा हेर्न आएका होइनौं भनी पुनः अड्डी कसेपछि हामी पाँचैजना त्यो काँडे तारनिर पुग्यौं। त्यहा हाम्रा बीचमा सामान्य परिचय भएपछि सेनाको एउटा कमान्डरले आफू मूल नेपाली भएको देहरादुन घर भएको बताए । काँडेतारको तल अलिअलि ओरालो हँुदै खोचमा फाँट छ। त्यो फाँटको किनारातिर गाउँघरमा हुने घट्टे खोलाजस्तो खोला छ। त्यही खोलालाई महाकाली नदी हो भनेर बताइयो। यो धेरै सानो खोला छ, कसरी नदी हुन सक्छ भन्दा होइन यो नै काली हो, मुहानमा काली मन्दिर पनि छ भनेर जवाफ फर्काए । त्यो खोलाको वारि पनि किन तारबार लगाउनुभयो भन्दा जवाफ दिएनन्। पछि सबैलाई मन्दिर दर्शन गर्न दिने भनेर एकदुई गरेर हेर्न दिइयो। मन व्याकुल भयो, भारी भयो। किन भने त्यो न वास्तविक काली नदी थियो न वास्तविक मन्दिर नै। हामी जे होस्, नक्कली भए पनि भारतले प्रायोजन गरेको सीमा रेखामा पुगेका थियौं। असली काली मन्दिर लिम्पियाधुरामा छ । जुन काली नदीको मुहान हो। एक दिन असली सीमा रेखामा पुग्ने विश्वासका साथ फर्कियौं । राति गागामा बसेर भोलि २२ गते बिहान दार्चुला जाने योजना थियो। हामी गागा नपुग्दै छाँगरुबाट एउटा समूह हामीलाई गाउँमा बोलाएको छ भनेर बोलाउन आयो। हामी बेलुकी छाँगरु पुग्यौं। हाम्रो भव्य स्वागत गरियो। कालापानी पुगेर आएकोमा धरैधेरै बधाई दिनुभयो । विभिन्न परिकार खुवाइयो। हामी आश्चर्यमा प¥यौं हिजो हामीसँग कुरा नै गर्न नखोजेका स्थानीयले आज गरेको भव्य स्वागतबाट। हाम्रो समूह र छाँगरुका स्थानीयबीच कुराकानी भयो। त्यहाँ प्रायः माहिलाको खटनपटन र निर्णायक भूमिका हुने रहेछ । हामी नेपाली हो, कालापानी नेपाल हो भन्ने हामी छांगरुवासीलाई थाहा छ तर काठमाडौंलाई थाहा छैन। हामीले नेपाल बचाउन धेरै कुर्बानी गर्नुपरेको छ, खतरा मोल्नुपरेको छ। कुन बेला भारतीय सेनाले के गर्ने हुन् थाहा छैन तर पनि हामी डटेर लागेका छौं। कालापानी आइदिनुभयो पहिलोपल्ट, देश पनि छ भन्ने अनुभूति भएको छ भनेर भावुक बने र हामीलाई पनि भावुक बनाए ।
हामीसँग गरेको कुरामा तीनवटा महत्वपूर्ण कुरा थिए। पहिलो भनेको दार्चुला जिल्ला सदरमुकाम खलगावाट टिंकर सम्मको बाटो राम्रो वनाई दिनुपर्ने, दोस्रो भनेको टिंकर–लिपुलेक व्यापारलाई सुदृढ गरिदिनुपर्ने र तेस्रो भनेको कालापानी सीमानजिक नेपाली सेनाको फौजलाई बाहै्र महिना बस्न सक्ने गरी आवश्यक व्यवस्था गरिदिनुपर्ने । यी तीनै माग कति जबर्जस्त माग थिए। एउटा विकाससँग सम्बन्धित र अर्को व्यापारसँग सम्बन्धित र तेस्रो देशको सुरक्षासँग सम्बन्धित थियो। ती आज पनि छन् र भोलिका दिनमा पनि रहने छन्।आज २१ वर्षपछि पनि अवस्था जहाँको त्यहीं अड्केको छ। विभिन्न बहानामा सेनालाई स्थायी रूपमा त्यहाँ राख्ने कामलाई महत्व दिएजस्तो छैन। जबसम्म सेनालाई सशस्त्र प्रहरीको ब्याक सपोर्ट हुने गरी त्यहाँ राखिँदैन तबसम्म भारतले यसलाई गम्भीरतापूर्वक हेर्ने छैन। उसमाथि दबाब बन्ने छैन, स्थानीयको आड–भरोसा हुने छैन। नेपालको अरू सीमाको सुरक्षा र कालापानी फरक हो भनेर बुझ्न जरुरी छ र बुझाइनु जरुरी छ ।
साभार अन्नपुर्ण पोष्टबाट
शुक्लाफाँटा खबर
5187 posts
सम्बन्धित