वेदकोटमा पालिकास्तरीय लोक गायन प्रतियोगितामा खेम नेपाली प्रथम

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला शाखा कञ्चनपुरको आयोजना तथा वेदकोट नगरपालिकाको प्रवर्द्धनमा पालिकास्तरीय लोक गायन प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रतिष्ठानकी जिल्ला अध्यक्ष सरस्वती जिसीको सभापतित्व, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यता रहेको थियो।

त्यसैगरी उपप्रमुख तुलसी जोशी, सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति सरस्वती दाहाल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय सचिव नवीन सिंह धामी लगायतको विशिष्ट आतिथ्यता रहेको थियो।

प्रतियोगितामा सहभागी कलाकारहरूले नेपाली लोक गीतको उत्कृष्ट प्रस्तुति दिएका थिए। प्रतिस्पर्धामा खेम नेपाली प्रथम, सर्मिला धामी द्वितीय तथा योगेश भट्ट तृतीय हुन सफल भए।

त्यसैगरी चक्र कोली र आरोही कुँवर ले सान्त्वना स्थान प्राप्त गरेका थिए। कार्यक्रमका वक्ताहरूले लोक संस्कृति र मौलिक गीत–संगीतको संरक्षण तथा प्रवर्द्धनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

प्रतियोगितामा विजयी प्रतिभाहरूलाई नगद, प्रमाणपत्र तथा सम्मान प्रदान गरिएको थियो। कार्यक्रममा जनप्रतिनिधि, कलाकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्बन्धित

Comments are closed.