सर्लाही । सर्लाही जिल्ला सुरक्षा समितिले नेपाल–भारत सीमा नाकामार्फत नेपाल प्रवेश गर्ने सबै यात्रुले आधिकारिक परिचय खुल्ने परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था लागु गर्ने निर्णय गरेको छ ।
वर्तमान सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै जिल्ला सुरक्षा समितिको बैठकले छिमेकी मुलुकबाट सीमा नाकामार्फत नेपाल भित्रिने सबै यात्रुको परिचय एकिन गरी मात्र प्रवेश अनुमति दिने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार परिचय खुल्ने आधिकारिक परिचयपत्र देखाएपछि मात्रै नेपाल प्रवेश गर्न दिइनेछ ।
पूर्वी नेपालका केही जिल्लामा उत्पन्न तनावपूर्ण अवस्थापछि सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको प्रशासनले जनाएको छ ।
सोही क्रममा प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूले विभिन्न धर्मका धार्मिक अगुवासँग छलफल गरेका छन् ।
जिल्लाभित्र सामाजिक सद्भाव, शान्ति र आपसी सहिष्णुता कायम राख्न सबै पक्षलाई संयमता अपनाउन जिल्ला सुरक्षा समितिले आग्रह गरेको छ ।
कुनै पनि प्रकारका असमझदारी वा विवादलाई संवाद र छलफलमार्फत समाधान गर्न तथा हिंसात्मक वा उत्तेजनात्मक गतिविधिमा संलग्न नहुन सबैसँग अपिल पनि गरिएको छ ।
धार्मिक जुलुस, र्याली, सभा वा सार्वजनिक कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनलाई अनिवार्य रूपमा पूर्वसूचना दिनुपर्ने निर्णय पनि गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले सार्वजनिक अपिल जारी गर्दै सामाजिक सद्भाव र शान्ति कायम राख्न सबैसँग सहयोगको आग्रह गरेको छ ।
Comments are closed.