लैङ्गिक हिंसा नियन्त्रणका लागि वडा तहदेखि अभियान चलाउनुपर्नेमा जोड

रमेश प्रसाद भट्ट

महेन्द्रनगर । लैङ्गिक हिंसा नियन्त्रणका लागि राज्यका सबै निकाय, स्थानीय तह, सुरक्षा संयन्त्र, नागरिक समाज तथा समुदायस्तरबाट संयुक्त रूपमा प्रभावकारी अभियान सञ्चालन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालका सदस्य तथा सरोकारवालाका लागि कञ्चनपुरमा आयोजित एकदिने अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा केवल कानुनी विषय नभई सामाजिक समस्याका रूपमा रहेकाले यसको न्यूनीकरणका लागि समुदायको तहसम्मै सचेतना र सक्रियता बढाउनुपर्ने बताएका हुन् ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत महिला अनुसन्धान परियोजनाको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको सह–आयोजनामा कार्यक्रम गरिएको हो।

कार्यक्रमको अध्यक्षता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी मदन कोइराला विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा महिला उत्थानशील परियोजनाका मञ्जु सिंह राणा, टिम लिडर सुलोचना श्रेष्ठ, महिला विकास अधिकृत रञ्जना पोखरेल, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रका प्रमुख प्रहरी निरीक्षक नारायणदत्त पाण्डे, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक चेतराज पन्त लगायत विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले समाजमा विद्यमान सबै प्रकारका लैङ्गिक हिंसा अन्त्यका लागि सबै पक्ष जिम्मेवार भएर अघि बढ्नुपर्ने बताए ।

उनले लैङ्गिक हिंसा नियन्त्रण कुनै एक निकायको मात्रै जिम्मेवारी नभएको उल्लेख गर्दै स्थानीय तह, प्रहरी, प्रशासन, न्यायिक निकाय, महिला तथा बालबालिकासँग सम्बन्धित संस्था, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको बताए । हिंसाका घटनालाई सामान्य सामाजिक व्यवहारका रूपमा स्वीकार गर्ने प्रवृत्ति अन्त्य गर्दै पीडितले सहज रूपमा न्याय र संरक्षण पाउने वातावरण निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी मदन कोइरालाले लैङ्गिक हिंसा समाजमा गम्भीर सामाजिक समस्याका रूपमा देखापरेको भन्दै यसको अन्त्यका लागि राज्यका सबै तह र समुदायको संयुक्त प्रयास आवश्यक रहेको बताए । त्यस्ता घटना भएको म कहाँ आए कार्वाहि गर्ने गरेको उनको भनाई छ ।

उनले वडा तहदेखि नै लैङ्गिक हिंसाविरुद्ध सक्रिय अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिँदै भने, “लैङ्गिक हिंसा नियन्त्रणका लागि माथिल्लो तहमा मात्रै कार्यक्रम सञ्चालन गरेर पुग्दैन । समुदायमा हुने समस्या पहिचान गर्न वडा र टोल तहसम्मै संयन्त्र सक्रिय हुनुपर्छ ।”

उनका अनुसार हिंसाका घटना हुन नदिन समुदायस्तरमा सचेतना अभिवृद्धि, पीडितको संरक्षण, कानुनी सहायता र घटनापछि प्रभावकारी न्यायिक प्रक्रियाका लागि सम्बन्धित निकायबीच निरन्तर समन्वय आवश्यक छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक नेत्रमणि गिरीले पछिल्लो समय समाजमा देखिने विभिन्न प्रकारका हिंसाको एउटा महत्वपूर्ण कारण लागु औषध समेत रहेको बताए ।

उनले लागुऔषधको प्रयोग तथा कारोबार नियन्त्रण र न्यूनीकरणमा प्रभावकारी रूपमा काम गर्न सकिए समाजमा हुने विभिन्न प्रकारका हिंसाका घटना घटाउनसमेत सहयोग पुग्ने बताए । “अहिले हिंसाको एउटा प्रमुख जड लागुऔषध पनि हो । लागुऔषधको रोकथाम तथा न्यूनीकरणमा प्रभावकारी काम गर्न सकियो भने समाजमा हुने विभिन्न प्रकारका हिंसा कम गर्न सहयोग पुग्छ,” उनले भने ।

प्रहरी प्रमुख गिरीले प्रहरीमा आउने लैङ्गिक हिंसासम्बन्धी उजुरी तथा पीडितका सवालमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै आएको बताए । पीडितलाई सुरक्षित वातावरण उपलब्ध गराउने, आवश्यक परामर्श तथा सहयोग प्रदान गर्ने र प्रचलित कानुनअनुसार अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाउने काम भइरहेको उनले जानकारी दिए ।

उनले हिंसा नियन्त्रणका लागि प्रहरीको भूमिका महत्वपूर्ण भए पनि प्रहरी एक्लैले मात्र सबै समस्या समाधान गर्न नसक्ने भएकाले स्थानीय तह, समुदाय, सामाजिक संस्था र अन्य सरोकारवाला निकायको सहकार्य अपरिहार्य रहेको बताए ।

कार्यक्रममा जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालको भूमिका, हिंसा नियन्त्रणका लागि अपनाउनुपर्ने रणनीति, पीडितको संरक्षण, कानुनी प्रक्रिया, अन्तरनिकाय समन्वय तथा समुदायस्तरमा सञ्चालन गर्न सकिने सचेतनामूलक अभियानका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

प्रहरी उपरीक्षक गिरीका अनुसार कार्यक्रममा जिल्ला स्तरिय लैङ्गिक हिंसा नियन्त्रण सञ्जालमा आबद्ध व्यक्ति तथा प्रतिनिधिलाई लैङ्गिक हिंसाको अवस्था, रोकथामका उपाय र हिंसा न्यूनीकरणका लागि स्थानीयस्तरमा गर्न सकिने कामका विषयमा एकदिने अभिमुखीकरण प्रदान गरिएको हो ।
कार्यक्रममा स्वागत तथा उद्देश्यबारे प्रकाश पार्दै महिला उत्थानशील परियोजनाकी मञ्जु सिंह राणाले लैङ्गिक हिंसाका घटना पीडितलाई न्याय र आवश्यक सहयोग उपलब्ध गराउन सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन् । उनले हिंसा रोकथामका लागि घटना भइसकेपछि मात्रै प्रतिक्रिया जनाउनेभन्दा जोखिम पहिचान गरी पूर्वरोकथाममा केन्द्रित हुनुपर्नेमा जोड दिइन् ।

महिला उत्थानशील परियोजनाको परिचय प्रस्तुत गर्दै टिम लिडर सुलोचना श्रेष्ठले परियोजनाले महिला तथा जोखिममा रहेका समुदायको सुरक्षा, अधिकार र सशक्तीकरणका क्षेत्रमा गर्दै आएका गतिविधिबारे जानकारी गराइन् । उनले लैङ्गिक हिंसा नियन्त्रणका लागि स्थानीय तहदेखि जिल्ला तहसम्म रहेका संयन्त्रलाई थप सक्रिय र परिणाममुखी बनाउनुपर्ने धारणा राखिन् ।

कार्यक्रममा सहभागीहरूले लैङ्गिक हिंसा नियन्त्रणका लागि आगामी दिनमा सञ्चालन गर्न सकिने कार्यक्रम, स्थानीय तहको भूमिका, पीडितमैत्री सेवा प्रवाह तथा सम्बन्धित निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत सुझाव तथा धारणा राखेका थिए ।

सम्बन्धित

Comments are closed.