महिलाको हक अधिकार सुनिश्चित गर्न समावेशी समाज आवश्यक
महेन्द्रनगर । द्वन्द्वपीडित तथा एकल महिला विकास केन्द्र कञ्चनपुरको आयोजनामा तथा अन्तरपुस्ता महिला वादी मञ्चको सहकार्यमा महिलाको हक अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा महिलाको सामाजिक, आर्थिक, राजनीतिक तथा नागरिक अधिकार सुनिश्चित गर्न सबै पक्षको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो। सहभागीहरूले महिलामाथि हुने विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै समावेशी र समानतामूलक समाज निर्माण गर्न आवश्यक रहेको बताएका थिए।
कार्यक्रममा ‘समावेशी, समानतामूलक समाज सबैका लागि अपरिहार्य’ भन्ने विषयलाई प्राथमिकतामा राख्दै आगामी २०८४ सालसम्म महिलालाई हरेक क्षेत्रमा प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिइएको थियो।
महिलाको हक अधिकारका लागि बनेका कानुनी तथा नीतिगत व्यवस्थाको प्रभावकारी कार्यान्वयन, निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता तथा आर्थिक सशक्तीकरणका लागि सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रममा द्वन्द्वपीडित, एकल महिला तथा विभिन्न समुदायका महिलाहरूले आफ्ना समस्या, अनुभव र अधिकारका विषयमा धारणा राखेका थिए। उनीहरूले महिलाका सवाललाई केवल दिवस वा अभियानमा सीमित नराखी व्यवहारमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रमले महिलाको अधिकार संरक्षण, लैङ्गिक समानता तथा समावेशी समाज निर्माणका लागि आगामी दिनमा समेत निरन्तर पैरवी र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
Comments are closed.