महेन्द्रनगर । कञ्चनपुरमा समुदायमा आधारित वन व्यवस्थापन समूहहरूका लागि कार्बन लाभ बाँडफाँड तथा लगानी योजना सम्बन्धी साक्षात्कार कार्यक्रम आयोजना गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समन्वय परिषद्को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समन्वय परिषद्का अध्यक्ष वासमती राजीले गर्नुभएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख लक्ष्मीराज जोशी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

यस्तै, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष लवबहादुर विष्ट, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष विकास श्रेष्ठलगायत सामुदायिक वनका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।समुदायमा आधारित वन व्यवस्थापन समूहले वन संरक्षण तथा व्यवस्थापनमार्फत प्राप्त हुने कार्बन लाभलाई कसरी प्रभावकारी रूपमा बाँडफाँड गर्ने र त्यसबाट प्राप्त लाभलाई समुदायको हितमा कसरी लगानी गर्ने भन्ने विषयमा कार्यक्रममा छलफल गरिएको थियो ।

सभाध्यक्ष राजीले सामुदायिक वन व्यवस्थापनमा आदिवासी जनजाति, दलित अपाङगता भएका व्यक्तीहरु तथा स्थानीय समुदायको भूमिका विषयमा छलफल भएको बताउनु भयो ।
साथै वन संरक्षणबाट प्राप्त हुने कार्बन लाभमा समुदायको पहुँच, लाभको न्यायोचित बाँडफाँड तथा प्राप्त रकमलाई स्थानीयस्तरमै उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने विषयमा समुदायमा गएर कार्यक्रमको आयोजान गरीने योजना रहेको बताउनु भयो ।
डिभिजन वन कार्यालयका प्रमुख लक्ष्मीराज जोशीले वन संरक्षण र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले समुदायले वन संरक्षणमा पुर्याएको योगदानको उचित मूल्याङ्कन हुनुपर्ने र कार्बनबाट प्राप्त हुने लाभमा स्थानीय समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न आवश्यक रहेको धारणा राख्नुभयो।
कार्बन लाभलाई पारदर्शी र न्यायोचित ढङ्गले समुदायसम्म पुर्याउन स्पष्ट योजना र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उहाँको भनाइ थियो। प्राप्त लाभलाई वन संरक्षणसँगै स्थानीय समुदायको आयआर्जन, जीविकोपार्जन तथा सामाजिक विकासका क्षेत्रमा लगानी गर्न सके त्यसले समुदायलाई वन संरक्षणप्रति थप जिम्मेवार बनाउन सहयोग पुग्ने उहाँले बताउनुभयो।
उहाँले कार्बन लाभ बाँडफाँड तथा लगानीका विषयमा सामुदायिक वन उपभोक्ता समूह, स्थानीय तह, सरोकारवाला निकाय तथा आदिवासी जनजाति समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो।
कार्यक्रमका वक्ताहरूले जलवायु परिवर्तन न्यूनीकरणसँगै वन संरक्षणमा स्थानीय समुदायको योगदान महत्वपूर्ण रहेको भन्दै कार्बन लाभबाट प्राप्त हुने अवसरमा समुदायको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए ।
साक्षात्कार कार्यक्रमले समुदायमा आधारित वन व्यवस्थापन समूहहरूलाई कार्बन लाभ बाँडफाँड तथा लगानी योजनाबारे जानकारी गराउनुका साथै आगामी दिनमा वन संरक्षण र स्थानीय समुदायको आर्थिक सशक्तीकरणका लागि आवश्यक रणनीति पहिचान गर्न सहयोग पुग्ने आयोजकले जनाएको छ ।
उक्त कार्यक्रमको संचालन नेपाल आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश समन्वय परिषद्का मुख्य सचिव कृती बहादुर थापाले गर्नुभएको थियो ।
Comments are closed.