कञ्चनपुरमा उराव झागड समाजको चौथो वार्षिक करम पूजा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा लोपोन्मुख उराव झागड जातिको चौथो वार्षिक करम पूजा पर्व सम्पन्न भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, संस्कृति जोगाउन हाम्रो अभियान’ भन्ने मूल नाराका साथ नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान जिल्ला कार्यसमिति, कञ्चनपुर महेन्द्रनगरको आयोजनामा बिहीबार करम पूजा कार्यक्रम सम्पन्न गरिएको हो। रसुवाको भोटेकोशीमा आउको बाढीबाट मृत्यु वरण गर्नुहुनेको आत्मा शान्तीको लागी दियो पनि बालिएको थियो ।

कार्यक्रमका अवसरमा उराव समुदायले आफ्नो मौलिक संस्कृति, परम्परा, रीतिरिवाज तथा सामाजिक पहिचान झल्काउने विभिन्न सांस्कृतिक गतिविधिसहित करम पूजा मनाएका थिए। कार्यक्रममा बोल्दै आयोजक संस्था नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान जिल्ला कार्यसमिति, कञ्चनपुरका अध्यक्ष अनिल उरावले उराव जातिलाई सरकारले लोपोन्मुख जातिको रूपमा सूचीकृत गरे पनि समुदायले पाउनुपर्ने सेवा–सुविधामा अझै पछाडि पारिएको बताउनुभयो।

उहाँले उराव समुदायका बालबालिकालाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत सेवामा विशेष प्राथमिकता दिन सरकारसँग आग्रह गर्नुभयो। साथै, समुदायको मौलिक परम्परा, संस्कृति र पहिचान संरक्षणका लागि स्थानीय सरकारले आवश्यक बजेट विनियोजन गर्नुपर्ने उहाँको भनाइ थियो।

उराव जातिको आफ्नै मूल्य–मान्यता, रहनसहन, रीतिरिवाज र सांस्कृतिक परम्परा रहेको उल्लेख गर्दै अध्यक्ष उरावले यसको संरक्षण र पुस्तान्तरणमा सरकारको पनि महत्वपूर्ण दायित्व रहेको बताउनुभयो। लोपोन्मुख उराव समुदायको आर्थिक तथा सामाजिक अवस्था सुधारका लागि सीपमूलक तालिम, आयआर्जनका कार्यक्रम तथा विभिन्न संरक्षणात्मक गतिविधि सञ्चालन गर्न स्थानीय सरकारसँग उहाँले माग गर्नुभयो।

यसैगरी, नेपाल उराव आदिवासी जनजाति प्रतिष्ठान केन्द्रिय कोषाध्यक्ष रामलाल उरावले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति र परम्परासँग जोड्न यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

परापुर्वकाल देखी मनाउदै आएको आफनो परम्परा संस्कृती रहनसहनलाई जेगर्ना गर्नका लागी यो करम पुजा हरेक वर्षको भाद्र पुर्णिमा देखी दशै तिहार सम्म मनाईने बताउनु भयो ।

आफनो पहिचान र संस्कृती लोप नहोस भनेर पनि नयाँ पुस्तालाइइ पनि यो परम्परा, कला लसंस्कृती हस्तान्तरण गरीने बताउनु भयो । आगामी दिनमा पनि करम पूजा लगायतका मौलिक सांस्कृतिक पर्वलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

सम्बन्धित

Comments are closed.