महेन्द्रनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन–प्याब्सन) भीमदत्त नगर कमिटीले तेस्रो सिजनको नृत्य प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीहरूमा रहेको कला, प्रतिभा तथा सिर्जनशीलताको प्रस्फुटनसँगै मौलिक कला, संस्कृति र भेषभूषाको संरक्षण तथा पहिचान गराउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको सभाध्यक्षमा महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल तथा एन–प्याब्सन भीमदत्त नगर कमिटीका अध्यक्ष दिजराज भट्ट रहनुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावल रहनुभएको थियो ।

यसैगरी कार्यक्रममा एन–प्याब्सन केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्यामसिंह मौनी, कञ्चनपुर जिल्ला निवर्तमान अध्यक्ष झंकर जोशी, शारदा संस्कृत विश्वविद्यालयका क्याम्पस प्रमुख हरिलाल जोशी, भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, एन–प्याब्सन सुदूरपश्चिम प्रदेश अध्यक्ष वीरबहादुर चन्द, जिल्ला वरिष्ठ उपाध्यक्ष बलदेव भट्ट तथा समाजसेवी कृष्णादत्त जोशीलगायतको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाएका थिए। विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए । प्रतियोगितामा महाकाली मोडर्न पब्लिक स्कुलले प्रथम स्थान हासिल गरेको छ । प्रथम भएको विद्यालयले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ ।
त्यस्तै लिटिल बुद्ध एकेडेमीले द्वितीय स्थान हासिल गर्दै नगद १२ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । यसैगरी बेलौरीस्थित उग्रतारा बाल विद्यालय तृतीय भएको छ । विद्यालयले नगद १० हजार रुपैयाँसहित पुरस्कार प्राप्त गरेको छ । द ब्राइट फ्युचर इङ्गलिस बोर्डिङ स्कुलले चौथो स्थान हासिल गर्दै नगद ७ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले नृत्य प्रतियोगिता मनोरञ्जनका लागि मात्र नभई विभिन्न जातजाति, भाषाभाषी तथा समुदायका कला, संस्कृति र मौलिक पहिचानको संरक्षणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
उहाँले विद्यालयस्तरबाटै विद्यार्थीलाई आफ्नो मौलिक संस्कृति, परम्परा र भेषभूषाप्रति परिचित गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने उल्लेख गर्नुभयो । साथै, विद्यार्थीमा लुकेर रहेका प्रतिभाको पहिचान गरी उनीहरूको क्षमता विकास गर्न यस्ता प्रतियोगिताको निरन्तरता आवश्यक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रमको सभाध्यक्ष तथा महाकाली मोडर्न पब्लिक स्कुलका संस्थापक प्रिन्सिपल एवं एन–प्याब्सन भीमदत्त नगर कमिटीका अध्यक्ष दिजराज भट्टले नृत्य प्रतियोगिताले विद्यार्थीमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै कला, संस्कृति र मौलिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
उहाँले विद्यार्थीको शैक्षिक विकाससँगै अतिरिक्त क्रियाकलापमार्फत उनीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमताको विकास गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले एन–प्याब्सन भीमदत्त नगर कमिटीले आगामी दिनमा पनि विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो ।
साथै, प्रतियोगितामा सहभागी सबै विद्यालय, विद्यार्थी, शिक्षक तथा अभिभावकप्रति धन्यवाद व्यक्त गर्दै विजेता विद्यालयलाई बधाई तथा सहभागी सबैलाई आगामी दिनमा अझ राम्रो गर्न शुभकामना दिनुभयो । कार्यक्रममा सहभागी विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक तथा मौलिक प्रस्तुतिमार्फत आफ्नो कला र प्रतिभा प्रदर्शन गरेका थिए ।
आयोजकका अनुसार प्रतियोगिता मनोरञ्जनका लागि मात्र नभई विद्यार्थीहरूलाई आफ्नो कला, संस्कृति, भेषभूषा तथा मौलिक पहिचानसँग जोड्ने उद्देश्यले आयोजना गरिएको हो ।
कार्यक्रमको सञ्चालन एन–प्याब्सन भीमदत्त नगर कमिटीका नगर सचिव तर्क भट्टले गर्नुभएको थियो । कार्यक्रममा नगर उपाध्यक्ष दीपसिंह ऐडीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
Comments are closed.