१५ विद्यालयलाई पछि पार्दै महाकाली मोडर्न पब्लिक स्कुल नृत्य प्रतियोगितामा प्रथम

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्टता प्रदर्शन गरेको छ।राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन नेपाल (एन–प्याब्सन) भीमदत्त नगर कमिटीको आयोजनामा सम्पन्न तेस्रो सिजनको नृत्य प्रतियोगितामा महाकाली मोडर्न पब्लिक स्कुल प्रथम भएको हो। प्रतियोगितामा सहभागी १५ वटा विद्यालयलाई पछि पार्दै महाकाली मोडर्न पब्लिक स्कुलका विद्यार्थीहरूले उत्कृष्ट नृत्य प्रस्तुत गरी प्रथम स्थान हासिल गरेका हुन्।

विद्यार्थीहरूले प्रस्तुत गरेको नृत्यमा मौलिक कला, संस्कृति, भेषभूषा तथा देशप्रतिको सम्मानलाई समेटिएको थियो। विद्यार्थीहरूको दमदार प्रस्तुतीले कार्यक्रममा उपस्थित दर्शकको समेत ध्यान आकर्षित गरेको थियो। नृत्य प्रस्तुतिपछि विद्यार्थीहरूले दर्शकबाट वाहवाहीसमेत पाएका थिए।

प्रतियोगितामा नृत्यको प्रस्तुतीकरण, मौलिकता, कला–संस्कृति, भेषभूषालगायत मूल्याङ्कनका विभिन्न मापदण्ड निर्धारण गरिएको थियो। ती सबै मापदण्डमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालय प्रथम हुन सफल भएको विद्यालयका संस्थापक प्रिन्सिपल दिजराज भट्टले जानकारी दिनुभयो।

प्रिन्सिपल भट्टका अनुसार विद्यार्थीहरूको निरन्तरको मिहिनेत, परिश्रम र अभ्यासकै कारण विद्यालयले प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको हो। उहाँले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि पढाइसँगै अतिरिक्त क्रियाकलापलाई पनि विद्यालयले प्राथमिकतामा राख्दै आएको बताउनुभयो।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेसँगै महाकाली मोडर्न पब्लिक स्कुलले नगद १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। विद्यालयले शैक्षिक गतिविधिसँगै कला, संस्कृति, नृत्यलगायत अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागिता बढाउँदै आएको जनाएको छ।

सम्बन्धित

Comments are closed.