अध्यापन अनुमतिपत्रको परीक्षा नतिजा हामी कहा छौं
नेपाल सरकार, शिक्षा मन्त्रालयले सातवटै प्रदेशमा विद्यालय स्तरका शिक्षक छनौटका लागि लिइएको अध्यापन अनुमतिपत्र परीक्षाको नतिजा प्रकाशनमा ल्यायो जुन निम्नानुसार छ ।
शिक्षा सेवा आयोगको नतिजा विवरण
प्राथमिक तह
प्रदेश कुल परीक्षार्थी उत्तिर्ण परीक्षार्थी उत्तिर्ण प्रतिशत
१ ९,८११ ९०३ ९.२०
२ १०,६८९ ३४९ ३.२६
बागमति ८,०४८ ६६० ८.२०
गण्डकी ७,१३२ ५२१ ७.३०
५ ११,१३१ ८२७ ७.४२
कर्णाली १२,०७० ३७० ३.०६
सुदूर पश्चिम ७६८ २५२ ३.२८
नि.मा.वि. तहको विषयगत नतिजा
विषय कुल परीक्षार्थी उत्तिर्ण परीक्षार्थी उत्तिण प्रतिशत
विज्ञान ३,३६७ २८९ ८.५८
नेपाली ४८,९३४ २,०४९ ४.१८
सामाजिक शिक्षा २२,०९९ ७४२ ३.३५
अंग्रेजी १९,८०९ ९५३ ४.८१
ग्णित ७७७५ ६९१ ८.८८
उपर्युक्त तथ्यांकीय विवरणले देखाए अनुसार न कुनै तहमा, न कुनै विषयमा, न त कुनै प्रदेशमा उत्तिर्ण अनुपातले दश प्रतिशत छोएको छ । ९७ प्रतिशत सम्म परीक्षार्थी अनुत्तिर्ण रहेको देखाउने यो नतिजाले कुन स्थितिको चित्रण गर्छ त ? प्रश्नहरु थुप्रै उब्जिन्छन् । हाम्रो शैशिक गुणस्तरको अवस्था के छ ? हाम्रा शिक्षण स्ंस्थाहरु कस्तो जनशक्ति उत्पादन गर्दैछन् ? अनि शिक्षा क्षेत्रका यस्ता जनशक्तिले कस्तो भावि जनशक्ति उत्पादन गर्नेहोलान् ? हामी कतातिर जादैछौं ? के हाम्रा वर्तमान प्रधानमन्त्रीले भनेको सुखी र समृद्ध नेपालतिर जाने बाटो यही हो ?
केही मित्रहरुको सुझाव छ कि चार वर्षे शिक्षा संकाय तर्फको स्नातक तहलाई खारेज गर्ने र शिक्षक बन्न चाहने अन्य संकाय तर्फका स्नातक उत्तिर्णहरुलाई एक वर्षे शिक्षण तालिमको व्यवस्था गर्ने । व्यवस्था त जे गर्दा पनि हुन्छ । तर व्यवस्था आफैमा समस्याको समाधान होइन । कुरो त नियतको हो । प्रवृत्तिको हो । इमानदारीता र लगनशीलताको हो । आचरण र संस्कारको हो । नेपाल धनसंपत्ति भन्दा बढी यिनै कुराहरुमा गरीब छ । यथार्थमा यिनै कुराहरुको गरिवीले गर्दा नेपाल आर्थिक रुपमा पनि गरीव भएको हो । के शिक्षा संकाय बाहेक अरु संकायहरुमा स्तरीय पठनपाठन हुन्छ त ? चार वर्षे अध्ययन असफल भएपछि यो एक वर्षे तालिम राम्रो हुने कुराको के ग्यारण्टी ? अरु विषयमा स्नातक परीक्षा उत्तिर्ण गरेर एक वर्षे शिक्षण तालिम गरेका शिक्षकहरु प्नि धेरै छन् । के ती सबै राम्रा र योग्य छन् ? अनि तालिम नै नलिएका योग्य र दक्ष शिक्षकहरु प्नि धेरै भेटिन्छन् । यसैले समस्या जटिल र पेचिलो छ । समस्या पढ्नेमा छ कि पढाउनेमा छ ? दोषी को छ अर्थात दोष केमा छ ? त्यसको निराकरण कसले कसरी गर्नसक्छ ? यी गम्भीर तरिकाले घोत्लिएर मन्थन गर्नुपर्ने प्रश्न भैसके । हचुवा तवरले विकल्पका लागि विकल्प खोजेर पुग्दैन । विकल्प त खोज्नैपर्छ । तर त्यो विकल्प कारगर र परिणाममुखी हुनु जरुरी छ । यसले काम गर्यो भने ठीक छ, नत्र पछि अर्को हेरौंला भनेर हुंदैन । शिक्षा क्षेत्रमा २००७ साल पछि यस्ता धेरै विकल्प प्रयोगमा आइसके । तर समस्या भने जहांको तहीं छ । बरु झन गम्भीर बन्दैछ । शैक्षिक गुणस्तरको ह्रास र क्षयीकरण यसरी पहिले भएको थिएन । हामी बेसरी चुक्यौं । देश बेसरी चुक्यो । प्रयोगवादको शिकार बेसरी भइयो । पैसा अरुबाट लिइन्छ र उसैले भनेको शिक्षा पद्धति लागु गरिन्छ । एउटा दाताको परियोजना सकिन्छ । अनि अर्को दातालाई गुहारिन्छ । अनि उसैले तोके बमोजिमको पद्धति लागु गरिन्छ । करीब सात दशक यसैगरी बिते । यी विभिन्न पद्धति अन्तरगत उत्पादित जनशक्ति सीपयुक्त, क्षमतायुक्त, दक्षतायुक्त, ज्ञानयुक्त, इमानदार, कर्तव्यपरायण, देश र समाजप्रति उत्तरदायी, जिम्मेदार आदि केही बनेनन् । राजनीतिकर्मी, कर्मचारी, शिक्षक तथा अन्य पेशाकर्मी अधिकांश भ्रष्ट, अनैतिक र कामचोर बने । जसले स्वदेशमा काम पाएनन्, तिनले विदेशी श्रम बजार भरे । अहिले तिनैबाट बिप्रेसित रकमले मुलुकको अर्थतन्त्र धानेको छ । कोभिड १९ले सबैलाई आफ्नै थलोमा फर्कायो । अब के गर्छ सरकारले र के गर्छन् तिनले । हेरौं केही दिन ।
परिस्थिति निकै विडम्बनायुक्त र विरोधाभासपुर्ण छ । एकातिर देशका अमूल्य प्राकृतिक साधन र सम्पदाहरु पानी, खानी, वन, उब्जाउ जमिन, प्राकृतिक दृष्य उपयोगबिहीन भएर रहेका छन् भने अर्कोतिर मुलुकको युवा जनशक्ति अरु मुलुकको धर्तिमा न्युन पारिश्रमिकमा आफ्ना उत्पादनशील बर्षहरु गुजारीरहेछ बुढा आमाबाबु, यूवती पत्नी तथा नानीहरुलाई रुवाएर अनि अलपत्र छोडेर, खेतबारी बांझो राखेर । कति पैसा कमाउनेहरुका बन्द बाकसमा दिनहुजसो शबहरु बिमानस्थलमा भित्रिदैछन् र तिनका अभिभावकहरुलाई बुझाइदैछन् । यो माथि उल्लिखित शिक्षा क्षेत्रको समस्या त एउटा ऐना मात्र हो । त्यहांबाट देशका सबै चित्रहरु छर्लगं देखिनेछन् । तर समस्याको आधारभूत जग चाहिं शिक्षा नै हो । यो सुध्रेमा सबैतिर सुध्रिदैजानेछ ।
शिक्षा मानव सभ्यताको आधारशिला हो । सुसंस्कार र सुसंस्कृतिको मुहान हो । यसले मानिसभित्र अन्तरनिहित प्रतिभा र सिर्जनशीलतालाई मुखरित गर्दछ । बुद्धि र विवेकलाई तिखार्दछ । वास्तवमा यो मानिसलाई यथार्थ मै मानिस बनाउने अत्युत्तम साधन हो ।
फेरी एक छिन माथिको नतिजा बारे केही कुरा राखौं । शिक्षा आर्जन गर्नु शिक्षार्थीको उद्देश्य हो भने शिक्षक र शिक्षण संस्थाहरु त्यसका साधन हुन् । साधन उपयुक्त भएन भने साध्य ठीकसित पूरा हुनसक्दैन । यसैले साधन राम्रो हुनु जरुरी छ नै । तर साधन जति नै राम्रो भए पनि पित्तल ढालेर सूनका गहना बनाउन सकिदैन । जिज्ञासाविहीन, ध्येयविहीन र समर्पणविहीन शिक्षार्थाीलाई राम्रै शिक्षकले पनि उचित गन्तव्यतिर डोर्याउन मुश्किल पर्छ । जेनतेन प्रकारले प्रमाणपत्र हात पार्न उद्यत शिक्षार्थीलाई के गर्न सकिन्छ र ? नत्र शिक्षक बन्न कै लागि त्यत्रो समय, परिश्रम र आर्थिक साधन लगानी गर्ने व्यक्तिले उक्त परीक्षा उत्तिर्ण गरिसके पछि शिक्षक बन्नका लागि लिइने परीक्षामा अनुत्तिर्ण हुनु लाजमर्दो र खेदजनक कुरा होइन र ? त्यैपनि एउटा दुइटा होइन । झण्डै सतप्रतिशत । १०० जनाले त शुन्य अंक नै ल्याएका अनि १०००जनाको कुल लब्धांक १०भन्दा कम । तिनले परीक्षामा सम्मिलित हुने साहस नै कसरी गरेका होलान् । अनि स्नातक तहसम्म कसरी पुगे होलान् ? आफ्नै जिब्रो टोक्नु सिवाय केगर्न सकिन्छ र ?
कारण खोतल्ने हो भने विविध भेटिन्छन् । ती मद्धे केही प्रमुख कारणहरुको छोटो चर्चा गरौं ।
१) शिक्षण पेशालाई न्युन प्राथमिकता ः शिक्षण पेशा अपनाउने सपना हाम्रो देशमा कसैले बोक्दैन । सपना बोक्छन् त धेरैले डाक्टर, इन्जिनियर, वन अधिकृत, निजामति अधिकृत आदिको जहां वैध अवैधरुपमा ठूलो धनराशी आर्जन गर्ने अवसर मिल्छ र साधन र सुविधा सम्पन्न जीवन यापन गर्नसकिन्छ । केही नपाए अन्तमा शिक्षकको मानसिकता हाबी छ । अनि एस.एल.सी.परीक्षामा उच्च अंक प्राप्त गर्नेहरु त्यस्तै विषय रोज्छन् अच्च शिक्षा अध्ययनका लागि । अन्त नाम ननिस्के मात्र शिक्षा संकायतिर लाग्छन् । अनि ती मन्द बुद्धि, मन्द ज्ञान भएका र पढ्न गाह्रो मान्ने अल्छीहरु कसरी राम्रा शिक्षक बन्न सक्छन् ? यसकारण शिक्षण पेशालाई आकर्षक बनाउने र शिक्षा संकायमा पनि प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्ने र भर्नाका लागि न्युनतम अंक पचास प्रतिशत निर्धारण गर्न सरकार लगायत सबै सम्बद्ध निकाय सक्रिय बन्नु नितान्त जरुरी छ ।
२) अमर्यादित परीक्षा ः परीक्षामा परीक्षार्थीहरुले नक्कल गर्नु समान्य चोरीको रुपमा रहेन जुन फेला परेमा कार्वाही हुन्छ । नक्कल गर्न पाउनु अधिकार जस्तै बनिसक्यो अर्थात सामान्य प्रचलन भैसक्यो । बरु कसैको चीट समात्न खोजे निीक्षक गोदाइ खान्छ । परीक्षा कक्ष र त्यसको चारैतिर निरीक्षक, अभिभावक, शिक्षक र सुरक्षामा खटिएका प्रहरी समेत चीट आपुर्तिमा व्यस्त देखिन्छन् । परीक्षा परिसरमा रमाइलो मेला लागेको हुन्छ । कुनै केन्द्राध्यक्षले कडाइ गर्न खोजे पनि उ एक्लो रहन्छ र केही चल्दैन । यो यस कलमकारले एस.एल.सी. परीक्षाको केन्द्राध्यक्षको रुपमा स्वयं भोगेको घटना हो । यस्तो परीक्षा संचालन गर्नुको कुनै औचित्य छैन । शैक्षिक सत्र पूरा भएपछि सबैलाई स्वतः उत्तिर्ण घोषित गरिदिदा हुन्छ । कुनै आयोगको सामना गर्दा सक्षमहरु स्थान पाउंछन् । नक्कलीहरु आफै बाहिरिन्छन् । यदि परीक्षा नै लिने हो भने मर्यादित र अनुशासित परीक्षाको व्यवस्था गरिनैपर्दछ ।
३) राजनीतिक गतिविधिको नकारात्मक प्रभाव ः २०४७ सालको प्रजातान्त्रिक पुनर्वहाली पछि भित्रिएका केही विकृतिहरु मद्धे प्रमुख हो अत्यधिक राजनीतिकरण । प्रजातन्त्र त भित्रियो, तर प्रजातान्त्रिक संस्कार भित्रिएन । त्यस बेला जन स्तरमा कुनैपनि राजनीतिक दलसित पूर्णकालिन राजनीतिक कार्यकर्ताहरु थिएनन् । अनि तिनले शिक्षक, विद्यार्थाी, कर्मचारी र मजदूर जगतमा हात हाले । आफ्ना आफ्ना छाता संगठनहरु खोल्ने अभियान चलाए । निर्वाचनमा तिनीहरु नै प्रमुख र प्रभावकारी कार्यकर्ता बने । अनि ती छाता संगठनहरुले स्थायी रूप धारण गरे । आफ्नो मूल पेशा भन्दा राजनीतिक गतिविधिहरुमा बढी केन्द्रित हुनथाले । शिक्षण संस्थाहरु तथा सरकारी कार्यालयहरु पठनपाठन र जनसेवा भन्दा राजनीतिका अखाडा बने । यो वातावरणमा सुधार नआएसम्म शिक्षण संस्थाहरुमा स्तरीय पठनपाठन पुनर्वहाली गर्नु सम्भव छैन । तर यो वातावरण सच्याउनु भने निकै चुनौतिपूर्ण छ किनभने यसका जराहरु निकै मजबुत भैसकेका छन् । फेरी मुखले हो हो भनेपनि भित्री मनले यसलाई सच्याउन कोही तत्पर पनि देखिदैन । आफ्नो निहित स्वार्थमा बन्चरो हानेर देश र समाजको भलाइतिर को लाग्छ र ? न सरकार न त कुनै राजनीतिक दल । आखिर सरकार पनि कुनै राजनीतिक दलको न हुने हो । तर यदि यो शैक्षिक भद्रगोल निवारण गरेर शिक्षा क्षेत्रमा ठोस परिवर्तन ल्याउने नै हो भने सरकारले जिम्मेवार र गम्भीर बन्नैपर्दछ ।
यी देखि बाहेक शिक्षण संस्थाहरुमा नियमित निरीक्षण र अनुगमनको अभाव, हचुवा किसिमबाट ऐन तथा नीति नियमहरुमा परिवर्तन, व्यवस्थापन समितिका पदाधिकारीमा देखिएको राजनैतिक पुर्वाग्रह र अनुचि हस्तक्षेप गर्ने प्रवृत्ति तथा केही विद्यालयहरुमा देखा परेको व्यवस्थापन समिति र शैक्षिक प्रशासन बीचको द्वन्दादि पनि शैक्षिक गणुस्तरमा प्रतिकूल प्रभाव पार्ने कारक तत्वहरु ह्ुन् ।
अन्तमा यो नतिजाबाट पाठ सिकेर गम्भिरतापुर्वक तत्काल समुचित उपचारतर्फ ठोस पाइला चालिएन भने भोलीका दिनमा मुलुक सुख र समृद्धितिर होइन संकट र विपत्तिको गहिरो खाडलतिर अनियन्त्रित रुपले धसिदै जानेछ । दुःखद परिदृष्य टुलुटुलु हेरेर बस्नु पर्नेछ ।
ऐनवहादुर सिंह
पुर्व उपप्राधपक
जयपृथ्वी क्याम्पस, बझाङ
मिति २०७७।०३।१८
शुक्लाफाँटा खबर
5187 posts
सम्बन्धित