लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा लालबहादुर धामीको उम्मेदवारी घोषणा

महेन्द्रनगर । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्ती–२०८३ मा मौलिक लोक देउडा गायक लालबहादुर धामी –अछामी बड्डो० ले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

आगामी असोज २२, २३ र २४ गते महोत्तरीको बर्दिबासमा आयोजना हुने महाधिवेशनमा धामीले सुदूरपश्चिम प्रदेश भूगोलतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारी गरेका हुन् । सुदूरपश्चिमको मौलिक लोक देउडा गीतसंगीतको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रियस्तरमा पहिचान स्थापित गर्ने उद्देश्यसहित धामीले प्रतिष्ठानको नेतृत्व तहमा पुग्ने आकांक्षा व्यक्त गरेका छन् ।

मौलिक लोकसंस्कृति र लोकसंगीतको संरक्षणसँगै कलाकारहरूको हकहित, पेसागत सम्मान र संस्थागत सुदृढीकरणका लागि आफ्नो उम्मेदवारी रहेको गायक धामीले बताए । सुदूरपश्चिमको कला, संस्कृति र मौलिक लोकसंगीतलाई राष्ट्रियस्तरमा थप स्थापित गर्न प्रतिष्ठानको केन्द्रीय तहमा क्षेत्रको प्रतिनिधित्व प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको सुदूरपश्चिमका कलाकारको जोड छ ।

धामीको उम्मेदवारीलाई सुदूरपश्चिमको लोकसंगीत क्षेत्रको प्रतिनिधित्व र मौलिक संस्कृतिको प्रवद्र्धनसँग जोडेर हेरिएको छ । गायक धामीलाई जिताउन सुदूरपश्चिमका कलाकारहरुले अपिल समेत गर्न थालेका छन् ।

प्रतिष्ठानको ९औँ राष्ट्रिय महाधिवेशन तथा रजत जयन्तीले देशभरका लोक तथा दोहोरी गीतसंगीतसँग आबद्ध कलाकारहरू सहभागी हुने बताइएको छ ।

सम्बन्धित

Comments are closed.