विद्यालयमा स्वस्थ बानीसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित सुकासाल महेश्वर माध्यमिक विद्यालयमा विद्यार्थीहरूका लागि स्वस्थ बानीसम्बन्धी विद्यालयस्तरीय जनचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।विद्यार्थीहरूमा स्वास्थ्य, सरसफाइ तथा स्वच्छतासम्बन्धी ज्ञान, सचेतना र व्यवहारमा सकारात्मक सुधार ल्याउने उद्देश्यले GNHA को सहयोग तथा वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (PESWAN) को कार्यान्वयनमा सञ्चालित Healthy Habits Project अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो।

अभिमुखीकरणका क्रममा विद्यार्थीहरूलाई व्यक्तिगत स्वास्थ्य तथा सरसफाइ, स्वच्छता तथा WASH, प्राथमिक उपचार, महिनावारी स्वास्थ्य तथा सरसफाइ, प्रयोग गरिएका महिनावारी प्याडको उचित व्यवस्थापन तथा सुरक्षित विसर्जनलगायतका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा स्वास्थ्य तथा सरसफाइसँग सम्बन्धित विभिन्न विषयमा विद्यार्थीहरूसँग छलफल तथा अन्तरक्रिया समेत गरिएको थियो। सहभागी विद्यार्थीहरूले कार्यक्रमप्रति उत्साहजनक सहभागिता जनाउँदै दैनिक जीवनमा स्वस्थ बानी तथा व्यवहार अपनाउने विषयमा चासो देखाएका थिए।

विद्यार्थीहरूलाई व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै विद्यालय, घर तथा समुदायमा स्वच्छता प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहित गरिएको थियो। त्यस्तै, महिनावारीका समयमा अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइका उपाय, प्रयोग भएका प्याडको सुरक्षित व्यवस्थापन र प्राथमिक उपचारसम्बन्धी आधारभूत ज्ञानसमेत प्रदान गरिएको थियो।

कार्यक्रमले विद्यार्थीहरूको स्वास्थ्यसम्बन्धी ज्ञान तथा व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनुका साथै सरसफाइ र स्वच्छताप्रतिको सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

स्वस्थ तथा स्वच्छ वातावरण निर्माणका लागि विद्यालय तहबाटै विद्यार्थीहरूमा स्वस्थ बानीको विकास गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिइएको छ।

सम्बन्धित

Comments are closed.