महेन्द्रनगर । उदयदेव बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। शुक्रबार आयोजना गरिएको सभामा संस्थाको आर्थिक अवस्था, वार्षिक प्रगति, सदस्यहरूको क्षमता अभिवृद्धि तथा सहकारीले सञ्चालन गरेका विभिन्न गतिविधिबारे जानकारी गराइएको थियो।
संस्थाका अध्यक्ष नारा जोशीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ अधिवक्ता पूर्णबहादुर चन्द रहनुभएको थियो। कार्यक्रममा सहकारीका शेयर सदस्य, सञ्चालक समिति तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
साधारण सभाको अवसरमा सहकारीले विभिन्न क्षेत्रमा योगदान पुर्याउने ३२ जनालाई सम्मान गरेको छ। सम्मानित हुनेमा १५ जना उत्कृष्ट उद्यमी, पाँच जना जेहेन्दार विद्यार्थी, नौ जना ज्येष्ठ नागरिक, एक जना पत्रकार, दुई जना सञ्चालक तथा एक जना उत्कृष्ट किसान रहेका छन्। उनीहरूलाई दोसल्ला, नगद र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको हो।
आर्थिक वर्ष २०८२र०८३ को वित्तीय विवरणअनुसार संस्थाको शेयर पुँजी २३ करोड १८ लाख ५६ हजार ४०० रुपैयाँ रहेको छ। त्यसैगरी, संस्थामा दुई अर्ब २४ करोड ७९ लाख ५७ हजार ८२४ रुपैयाँ बचत रहेको छ भने ऋण लगानी एक अर्ब ६८ करोड ४४ लाख ५४ हजार ९४३ रुपैयाँ पुगेको छ।
सहकारीले उक्त आर्थिक वर्षमा पाँच करोड दुई लाख ६२ हजार ५८३ रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ। संस्थाको कर दायित्व एक करोड ३३ लाख ८१ हजार २६३ रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ।
सहकारीले आफ्ना सदस्यहरूको वित्तीय ज्ञान तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ६५ वटा वित्तीय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रममा एक हजार ९५० जनाको सहभागिता रहेको संस्थाले जनाएको छ।
त्यसैगरी, सदस्यहरूलाई स्वरोजगार तथा आयआर्जनका गतिविधिमा संलग्न गराउने उद्देश्यले ६० जनालाई व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम र १७ जनालाई दुना–टपरी बनाउने तालिम प्रदान गरिएको छ।
सहकारीले सदस्यहरूको आर्थिक तथा सामाजिक अवस्था सुधार गर्न बचत परिचालन, ऋण लगानी, वित्तीय शिक्षा र सीपमूलक तालिमलाई प्राथमिकता दिँदै आएको जनाएको छ। साधारण सभामा संस्थाको आगामी कार्ययोजना, सहकारीको दिगो विकास तथा सदस्यहरूको आर्थिक सशक्तीकरणका विषयमा समेत छलफल गरिएको थियो।
Comments are closed.