महेन्द्रनगर । महाकाली प्रादेशिक अस्पतालमा विगत छ महिनादेखि नियमित रूपमा सरसफाइ अभियान सञ्चालन हुँदै आएको छ। स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील क्षेत्र भएकाले अस्पताल परिसरलाई स्वच्छ, सफा र व्यवस्थित राख्न आवश्यक रहेको भन्दै अस्पताल व्यवस्थापन समितिको अगुवाइमा सरसफाइ कार्यक्रम सञ्चालन गरिँदै आएको हो।
अस्पतालमा उपचारका लागि आउने बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीलाई स्वच्छ वातावरण उपलब्ध गराउने उद्देश्यले सरसफाइ अभियानलाई निरन्तरता दिइएको महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश पन्तले बताएका छन्।
अस्पताल परिसर सफा राख्नु अस्पताल व्यवस्थापनको मात्र नभई सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै अध्यक्ष पन्तले सरसफाइ अभियानले अस्पतालको वातावरण स्वच्छ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
स्वास्थ्य सेवा प्रवाह हुने स्थानमा सरसफाइलाई विशेष प्राथमिकता दिनुपर्ने भएकाले आगामी दिनमा पनि अस्पतालको सरसफाइलाई निरन्तरता दिइने अपेक्षा गरिएको छ।महाकाली प्रादेशिक अस्पतालका डा। अर्जुन भट्टका अनुसार अस्पतालमा सरसफाइको विशेष महत्त्व रहेको छ।
अस्पतालमा दैनिक ठूलो संख्यामा बिरामी तथा सेवाग्राही आउने भएकाले संक्रमणको जोखिम न्यूनीकरण गर्न र बिरामीलाई स्वच्छ वातावरणमा उपचार सेवा प्रदान गर्न सरसफाइलाई प्राथमिकता दिन आवश्यक छ।
अस्पताल परिसर सफा राख्न अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, बिरामी तथा कुरुवासहित सबैले आफ्नो तर्फबाट जिम्मेवारी निर्वाह गर्नुपर्ने उहाँको भनाइ छ।
Comments are closed.