महेन्द्रनगर। “बालिकाको अधिकारमा लगानी गरौँ, बालविवाह अन्त्य गरौँ” भन्ने नाराका साथ कञ्चनपुरको भीमदत्त नगरपालिका–१ मा अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ।सुनगंगा र सुनौलो किशोरी क्लबको आयोजनामा सम्पन्न कार्यक्रममा बालअधिकार, बालिकाको अधिकार सुनिश्चितता तथा बालविवाह न्यूनीकरणसम्बन्धी सन्देशसहित जनचेतनामूलक र्याली निकालिएको थियो।

र्यालीमा सहभागी किशोरीहरूले विभिन्न सन्देशमूलक प्लेकार्ड बोकेर बालविवाह अन्त्य, बालअधिकारको संरक्षण र बालिकाको सशक्तीकरणका लागि समुदायमा सचेतना फैलाएका थिए।अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनल नेपाल र पेसवान कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘उत्थानशील भविष्यः बालविवाह अन्त्य कार्यक्रम’ अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा किशोरी क्लबका सदस्य, अन्य किशोरकिशोरी तथा सुरक्षा निकायका प्रतिनिधिसहित ७५ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ६५ जना बालिका तथा किशोरी र १० जना बालक तथा किशोर रहेका थिए। उनीहरूले बालिकाको अधिकार सुनिश्चित गर्दै बालविवाहमुक्त समुदाय निर्माण गर्ने सामूहिक प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रमले प्रत्येक बालिकाले शिक्षा, समान अवसर र आफ्नो भविष्य आफैँ निर्माण गर्न पाउने वातावरण सुनिश्चित गर्नुपर्ने सन्देश दिएको छ। बालिकाको अधिकारमा लगानी गर्नु, उनीहरूको आवाजलाई सम्मान गर्नु तथा निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सुरक्षित र उज्ज्वल भविष्य निर्माणका लागि महत्त्वपूर्ण रहेको आयोजकले जनाएको छ।
बालिकाले नेतृत्व गर्न, आफ्ना सपना पूरा गर्न र आत्मविश्वासका साथ अघि बढ्न सक्ने वातावरण निर्माणका लागि परिवार, समुदाय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको कार्यक्रममा जोड दिइएको थियो।
बालविवाह अन्त्य गरी प्रत्येक बालिकाले सम्मानपूर्वक बाँच्न, सिक्न र आफ्नो क्षमता विकास गर्न पाउने वातावरण निर्माण गर्नु नै अन्तर्राष्ट्रिय बालिका दिवसको मुख्य सन्देश रहेको छ।
Comments are closed.