छाडाचौपायको व्यवस्थापनमा लापरबाही, व्यवस्थापनको लागि पहल भइ रहेको न.पा.को भनाई
चारोको व्यवस्था नभएपनि मरेपछि हाल्न खाल्डा तयार
छाडाचौपायको व्यवस्थापनमा लापरबाही, व्यवस्थापनको लागि पहल भइ रहेको न.पा.को भनाई
महेन्द्रनगर, ११ साउन
कञ्चनपुरको वेदकोट नगरपालिकामा छाडाचौपायको व्यवस्थापनमा लापरबाही गरिएको पाइएको छ । स्थानीय तहको निर्वाचनका बेला जनप्रतिनिधीहरुले छाडाचौपायको व्यवस्थापन गर्ने भन्दै चुनावी नारा लगाएका भएपनि अहिले नगरपालिकाले छाडाचौपायको व्यवस्थापन उचित तरीकाले नगरेको वेदकोट नगरपालिकाका नगरावासीहरुले बताएका छन् ।
वेदकोट नगरपालिकाले वडा नम्बर १ मा छाडाचौपायाको व्यवस्थापन गर्ने भन्दै गौशाला निर्माण गरेकोमा त्यहा हात्ती लागेको भनेर वेदकोट नगरपालिकाको वडा नम्बर ६ मा रहेको चुनेपानी भन्ने स्थानमा छाडाचौपायाको राखेको भएपनि त्यहा गौशाला व्यवस्थापनमा चरम लापरबाही गरीएको वेदकोट नगरपालिका वडा नम्बर ६ का वडावासीहरुले बताएका छन् । सुरुमा २०७६ साल माघ महिनामा करीब १ हजार छाडाचौपाया ल्याएर गौशालामा राखिएको भएपनि अहिले करीब १ सय ५० जति मात्रै छाडाचौपाया गौशालामा रहेका छन् । सुरुमा करीब १ हजार चौपाया ल्याएको भएपनि विचमा हेटौडा लग्ने भन्दै केही चौपाया लगेको चुनेपानीमा रहेको गौशालामा रहेका हेरालुहरुले बताएका छन् । सिद्धसरोवर धाम नजिक रहेको चुनेपानी गौशालामा रहेका छाडा चौपायको अवस्था दयनीय रहेको र सरकारले व्यवस्थापनका लागि पहल नगरेको सिद्धसरोवर धाममा बसिरहनु भएका गिरी सम्प्रदायका एक जना सन्यासीले बताउनु भयो ।
शुक्लाफाँटा एफ्.एमको स्थलगत अवलोकनका लागि गएको समुहसंग कुराकानी गर्दै उहाले सरकारले गाइको व्यवस्थापनमा ध्यान नदिएको दुखेसो गर्नु भयो । उहाले २०७६ साल माघ महिनामा सिद्धसरोवर धार्मिक समितिसंग नगरपालिकाले गौशाला निर्माण गर्नुपुर्व विभिन्न किसिमका सहमति गरेको भएपनि अहिले एक सहमति पनि कार्यानव्यन नगरेको बताउनु भयो । त्यो बेला सहमति गर्दा छाडाचौपायका लागि चारोको व्यवस्था, चौपायाहरुको उपचार, त्यहा खटिने हेरालुहरुलाई बुट, पञ्जा लगायतका सुरक्षा सामाग्रीहरु दिने भनेको भएपनि त्यो अहिलेसम्म नदिएको उहाले बताउनु भयो । शुक्लाफाँटा एफ्.एमको समुहले स्थलगत निरीक्षण गर्दा छाडाचौपायको लागि चारोको व्यवस्थापन नगिएको तर चौपाया मर्नुअघि नै खाडल तयारी अवस्थामा राखिएको पाइएको छ । स्थानीयहरुले सरकारले गौशालामा राखिएका छाडाचौपायाको व्यवस्थापन गर्नुको साटो पहलिे नै मरेपछि राखौला भनेर खाडल तयार गर्नुले सरकारको गैरजिम्मेवारी प्रमाणित भएको बताएका छन् । वेदकोट नगरपालिका वडा नम्बर ७ पुतलीबजारका एक जना स्थानीय डम्मरा भट्टले गौशालामा राखिएका भनिएका छाडाचौपायको उचित तरिकाले व्यवस्थापन नहुदा रातीको समयमा आफ्नो खेतवारीमा लगाएको बालीनालीमा क्षति गर्ने गरेको बताउनु भयो । शुक्लाफाँटा एफ्.एमको समुहसंग कुराकानी गर्नुहुदै उहाले हेरालुहरुले छाडाचौपायालाई चराउन भन्दै जंगलमा लग्ने भएपनि आफुहरु तल आएर बसिदिदा छाडाचौपाया जंगलबाट भागेर आफुहरुको बालीनालीमा नोक्सानी गर्ने गरेको बताउनु भयो । पुलतीबजारकै अर्का एक जना स्थानीय राधिका भट्टले छाडाचौपायको उचित तरिकाले व्यवस्थापन नगरीदा आफुहरुले बाली नाली भित्र्याउनै नपाउने गरेको गुनासो गर्नु भयो ।
अन्य स्थानबाट समेत गौशालामा राख्ने भनेर छाडाचौपाया ल्याइएपनि तिनीहरुको उचित तरिकाले व्यवस्थापन नहुदा आफुहरुको बालीनालीमा ठुलो नोक्सानी हुने गरेको बताउनु भयो । गौशालाका हेरालु वेदकोट नगरपालिका वडा नम्बर ६ का लक्ष्मी भट्टले आफुहरुले गौशालामा रहेका छाडाचौपायको हेरचाह गरी रहेको बताउदै बिहान चराउन लग्ने तथा साझतिर फर्काएर ल्याउने गरेको बताउनु भयो । अर्का एक जना हेरालु दुर्गा शाहीले आफुहरु ५ जना हेरालुले मासिक ८ हजार रुपैयाका दरले तलब पाउने गरेको जानकारी दिनु भयो । यता वेदकोट नगरपालिकाको वडा नम्बर ६ का स्थानीयहरुले छाडाचौपायाको व्यवस्थापन गर्ने भन्दै सरकारले लाखौ रकम छुट्याएको तर उचित तरिकाले व्यवस्थापन नभएको भन्दै आक्रोस व्यक्त गरेका छन् । यता वेदेकाट नगरपालिकाका नगर प्रवक्ता तथा वडा नम्बर २ का वडाअध्यक्ष नरेश बहादुर सिहले शुरुमा नगरपालिकाले छाडाचौपायको व्यवस्थापन गर्नका लागि भन्दै गौशाला निर्माण गर्नका लागि सार्वजनिक जमिन पाउन गाह्रो भएकाले समस्या भएको बताउदै त्यसपछि वेदकोट नगरपालिका वडा नम्बर १ मा पहिला देखि नै गाई गोरु सरक्षणका लागि केही ठाउँ रहेकाले त्यहा सल्लाह गर्दा हुन्छ भन्ने खबर आएको र नगरपालिकाले रु. ५० लाख रकम बिनियोजन गरीएको बताउनु भयो । ५० लाख रकम भौतिक पुर्बाधारका लागि बोलपत्रका आधारमा २६ लाख मा सदर भएको बाकी १४ लाख मा गाई गोरुका लागि पराल र चोकिदारको तलब र सोलार बत्ति खरीद गरिएको बताउनु भयो । रु. १४ लाख नि पूरा खर्च भयन बचेको रकम सरकारको खातामा फिर्ता गएको बताउनु भयो । यस विषयमा वेदकोट नगरपालिका जनप्रतिनिधीहरुसंग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन् । स्थानीय सरकारका जनप्रतिनिधीहरुले छाडाचौपायको व्यवस्थापन गर्न नसक्दा एकातिर किसानहरुको बालीनालीमा क्षति पुग्ने गरेको छ भने अर्काेतिरछाडा चौपायाका कारण सडक दुर्घटना पनि बढ्ने गरेका छन् ।
वेदकोट नगरपालिकाले गठन गरेको छाडाचौपाया व्यवस्थापन समितिका अध्यक्ष गणेश बहादुर बमसंग बुझदा २०७६ सालको माघदेखि सिद्धसरोबर धार्मीक पर्यटकीय क्षेत्रमा छाडाचौपायाको व्यवस्थापन गरी रहेको बताउनु भयो । शुक्लाफाँटा एफ्.एमसंग कुराकानी गर्दै उहाले अहीलेपनि ११५ ओटा गाई चुनेपानी गौशालामा अहिलेपनि रहेको बताउनु भयो । आफुले आफ्नो समितिको तर्फबाट नगरपालिकालाई प्रतिबेदन समेत बुझाएको बताउनुभयो । आफुहरुले बेदकाट आसपासका सबै सडकहरुबाट करीब ६÷७ सय जती छाडाचौपायालाई वेदकोट नगरपालीका वार्ड नम्बर ६ को चुनेपानी भन्ने ठाउमा निर्माण गरीएको गौशालामा राखीएको बताउनु भयो । त्यसपछि पनि स्थानीयहरुले फेरी छोडने काम गर्दा नगरपालीकाले तिनको तथ्याङ लिन नसक्दा व्यवस्थापनमा समस्या आएको अध्यक्ष बमले बताउनु भयो ।
वेदकोट नगरपालिकाले छाडाचौपायाको व्यवस्थापनका लागि भौतिक संरचना निर्माण गरेपनि त्यसको उचित तरिकाले व्यवस्थापन गर्नुको साटो ठाउठाउमा थप भौतिक संरचना मात्रै निर्माण गर्दा कतै यसमा भ्रष्टाचार पो भइ रहेको छ कि भन्दै स्थानीयहरुले आशंका समेत गर्न थालेका छन् । छाडाचौपायको समस्या कञ्चनपुरको वेदकोट नगरपालिकामा मात्र नभएर भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका तथा कृष्णपुर नगरपलिकामा पनि रहेको छ । पालिकाहरुले व्यवस्थापनका लागि पहल गरेको भन्दै दाबी गरेका भएपनि स्थानीयहरुले त्यो प्रभावकारी र उचित व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।