भाद्र महिनाको पहिलो दिन अर्थात भाद्र संक्रन्ति । सुदूरपश्चिम प्रदेशमा हरेक बर्ष झै आजको दिन ओल्के पर्व मनाइदैछ । सुदूरपश्चिमको मौलिक पर्वका रुपमा रहेको ओल्के पर्व घरपरिवारमा नयाँ नयाँ पकवानहरु पकाउदै एक आपसमा खुशी साटासाट गरी मनाइदै छ ।
डोटेली भाषा शब्दकोषका अनुसार ओल्को भन्नाले सम्मानित व्यक्तिलाई दिइने केही वस्तु वा उपहारलाई बुझाउदछन । यो पर्वमा आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप कर्कलाको पात, फलफूल आदि दिने, मीठो–मसिनो खाने, हातमा मेहेन्दी लगाउने चलन रहेको छ ।
आफू भन्दा ठुलाबडा, मान्यजन र जेष्ठ नागरीकलाई सम्मान स्वरुप ‘ओल्को’ दिएर , मिठो मसिनो खाएर र अन्य फरक फरक मौलिक तवरबाट मनोरञ्जन गरी ओल्के मनाइँदैछ ।
बिपत्तीको समयमा ज्यान जोगिएको खुशियालीमा मनाइने यस पर्वलाई ‘ओल्के’ भनिन्छ । ‘ओल्को’ भन्नाले ‘ओलक’ अर्थात् सौगात, उपहार वा कोसेली भन्ने बुझिन्छ । ओल्कोमा मान्यजनलाई हरियो साग (मुख्यतयाः पिडालुको गाभा) र फलफुल दिइने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू, गूड र पक्वान्न आदी पनि दिइन्छ ।
शिल्पकारहरुले आफूले बनाएका सामानहरू पनि दिने गर्छन् । परापूर्व कालदेखी नै यस क्षेत्रमा ‘मरुला भनेर ‘बिशु’ खानु, बाँचे भनेर ‘ओल्के’ खानु’ भन्ने किम्वदन्ती छ ।
बर्षायामका बैशाख, जेठ, असार र साउन महिना रोगव्याधि तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक बिपत्तीका महिना मानिन्छन्। यस्तो संकटग्रस्त महिनामा मरिन्छकी भनेर बैशाख सक्रान्तीमा बिशु मनाउने र भदौ सक्रान्तीमा ओल्के मनाउने प्रचलन रहिआएको जानकार बताउँछन् ।
विषेशगरी यस पर्वका दिन विवाहित छोरीबेटीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणालगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ ।
चाडमा गाउँघर तिर समूहमा विभाजन भई देउडा खेल्ने, पिङ खेल्ने तथा स्थानीय लोक भाकामा गीत गाउँनेलगायतका क्रियाकलाप पनि गर्ने गर्दछन् । तर यस बर्ष भने विश्वब्यापी महाकारीका रुपमा बढ्दै गएको कोरोना भाईसरका कारण बिगतका बर्षहरु जस्तो चहलपहल भने रहेको छैन ।
पछिल्लो दिनहरुमा झन झन संक्रमितहरु थपिदै जान थालेकाले स्थानिय सरकारले चार्डपर्वमा भिडभाड नगरी घरभित्रै बसेर पर्व मनाउन सबैमा अनुरोध समेत गरेको छ । शहरी क्षेत्रमा यो चाडको महत्व केही मात्रामा घट्दै गएको बुढापाखाहरु बताउँदछन् । यो पर्व नेपालको सुदूरपश्चिम प्रदेशका साथै भारतको कुमाउ, गडवाल लगायतका स्थानमा पनि मनाउने गरिन्छ।