जयपृथ्वीलाई श्रद्धान्जली
ऐनवहादुर सिंह
स्व. जयपृथ्वीवहादुर सिंहले यस धरामा अवतरण गरेको १४३ वर्ष पुरा भए । उनको भौतिक देह अवसान भएको पनि ८० वर्ष वितीसके । तर अझै हामीमाझ जीवित छन् र हाम्रा सन्ततीहरुमाझ पनि उनी जीवित रहनेछन् । उनका मानव कल्याणार्थ गरेका पुनित कर्महरु कहिल्यै मर्ने छैनन्् । यसैले श्रद्धान्जली स्वरुप उनका शुभ कर्महरुको स्मरणमा दुइ शव्द अर्पण गर्दछु । मानिसको चोला लिएर जन्मेका प्राणीहरुमा यो चोलालाई ज्यादै थोरैले मात्र सार्थक तुल्याएका छन् । त्यही श्रेणीमा अंकित छन् जयपृथ्वीवहादुर सिंह जसले आफ्नो यावत जिन्दगी मानव जातिको हितार्थ समर्पित गरे । उनी आम मानिसमा हुने काम, क्रोध, लोभ, मोह, अहंकार र निहित स्वार्थको परिधि भन्दा बाहिर थिए । उनले पद, प्रष्ठिा र धनका लागि आफ्नो इमान कहिल्यै त्यागेनन् । जन्मथलो, देश, साँघुरा राष्टियता र संकुचित ममत्वको घेराभित्र पनि बाँधिएनन् । उनलाई संकुचित पार्नखोज्दा झनझन फैलिदै गए ।
उनी १२ वर्षको वाल्यावस्था मै तत्कालिन रजौटा राज्य बझाङको राजा हुनपुगेका थिए र यस पदको हैसियतमा त्यहाँका वासिन्दा प्रति आफ्नो गम्भिर दायित्व बोध गरे । आम जनताको शोषण गरेर आफु सम्पन्न बन्ने र असिमित सुख सुविधा भोग गर्ने अरु राजाहरुको प्रवृत्ति विपरित उनी बझाङवासीको कल्याणमा जुटे । शिक्षा, स्वास्थ्य, सीप तथा संपत्ति र भौतिक सुख सुविधा दिलाएर तिनको जीवन स्तर कसरी माथि उठाउन सकिन्छ भन्ने ध्याउन्नमा लागे । विद्यालय र अस्पताल स्थापना गरे । रोगबाट बच्न सरसफाइ संबधि जनचेतना जगाए । औद्योगिक व्यवशाय संबन्धि तालिम दिलाए । गोरेटो बाटो निर्माण गराए । काठमाण्डौबाट नापी टोली झिकाएर आफ्नो स्वामित्वमा रहेको जग्गा मोहीहरुको नाममा जर्ता गराइदिए । उनले अझ त्यसभन्दा फराकिलो कार्यक्षेत्र खोजे र आफ्ना सत्तासीन मावली खलक राणाहरुको सम्पर्कमा रहेर राजधानी काठमाण्डौलाई आफ्नो कार्यथलो बनाए । काम गर्ने अवसर र जिम्मेवारी पनि पाए । जेठा ससुरा प्रधानमन्त्री देव शमसेरले उनलाई शिक्षा क्षेत्रको कार्यभार दिए । उनले देशका विभिन्न भागमा विद्यालयहरु स्थापना गर्ने अभियान चलाए । तर देव शमसेर प्रधानमन्त्री भएको तिन महिना भित्रै आफ्नै भाइहरुद्वारा सत्ताच्युत गरिए । त्यसपछि उनका आफ्नै ससुरा चन्द्र शमसेर प्रधानमन्त्री भए । उनको शिक्षामा अभिरुची थिएन । यसैले विद्यालय खोल्ने अभियान रोकिदिए । खोलेका स्कूलहरु पनि बन्द गराइदिए । तर उनले जयपृथ्वीलाई नेपालको एकमात्र सरकारी समाचारपत्र गोरखापत्रको सम्पादकको अख्तियारी दिए जुन पदमा रहेर उनले करीब पन्ध्र वर्ष अर्थात नेपाल नछोडेसम्म काम गरे र गोरखापत्रलाई उनले समाचारपत्र मै सिमित नराखेर नेपाली भाषा र साहित्यको उत्थानको माध्यम पनि बनाए । नेपाली भाषा र साहित्यको उन्नतिमा पनि विशेष अभिरुची थियो । यसैले उनले विद्यालयहरुमा पठनपाठनको भाषा नेपाली नै हुनुपर्छ भन्ने दरिलो अडान लिए । नेपाली भाषामा पाठ्यपुस्तक छैनन् भन्नेजस्ता निहु देखाउनेलाई आफैले विभिन्न विषयका पाठ्यपुस्तक तयार पारेर प्रकाशनमा ल्याए । जनतामा प्रजातान्त्रिक चेतना जगाउन जापानको इतिहास नेपाली भाषामा लेखेर प्रकाशित गरे । बेलायत भ्रमणमा आफ्ना ससुरासित उनीपनि संगै गएका थिए । त्यहाको शासन प्रणालीबाट प्रभावित भएर ससुरालाई नेपालमा पनि त्यस्तै शासन प्रणाली अपनाउनु पर्छ भनेर सुझाव दिए । भारदारी सभाको प्रमुखको जिम्मेवारी बहन गरेका बेला कमाण्डरइनचीफ बहादुर शमसेरले गरेको एउटा मुद्दाको फैसलालाई उल्ट्याइदिए । उनले तत्कालिन ब्रिटिशइण्डियाको राजनयिकको जिम्मेवारी पनि बहन गरेका थिए । तर उनका आफ्नो व्यक्तिगत हित र स्वार्थ विपरित यी सबै गतिविधि देखेर जुवाइ भएका कारण चुप लाग्नु परे पनि चन्द्र शमसेर भित्रभित्र निकै मुर्मुरिइसकेका थिए । यो कुरो चाल पाइसकेका जयपृथ्वीले नेपालमा बसिरहनु उचित ठानेनन् र चरा झैं स्वच्छन्द स्वभाव भएका उनले स्वनिर्वासनको बाटो रोजे । केही वर्ष नैनितालमा बिताएर अन्तमा भारतको दक्षिणि शहर बंगलोरमा घर बनाइ स्थायी बसोवास गरे ।
बंगलोरमा बसेर उनले समग्र मानव जातिको शान्ति सुरक्षा र उन्नतिका लागि आाफ्नो दार्शनिक सिद्धान्त प्रतिपादन गर्नमा जुटे । तिन खण्डमा “मानवतावाद” शिर्षकको पुस्तक लेखे । मानवतावादी क्लब स्थापना गरे र “द ह्युमनिष्ट” नामको आवधिक पत्रिका प्रकाशनमा ल्याए । सबै मानिसहरु आत्म सुरक्षा चाहन्छन् । शान्तिपूर्ण वातावरणमा बाँच्न चाहन्छन् र जीवनमा उन्नति चाहन्छन् । यी कुराहरु बिना भिडन्त, बिना झैझगडा र बिना युद्ध कसरी उपलव्ध गर्न सकिन्छन् ? उनको मानवतावाद दर्शनको सारभूत विषयवस्तु यही हो । यसै कुरामा उनले आफ्नो सैद्धान्तिक विश्लेषणलाई केन्द्रित गरेका छन् । आत्मरक्षा त अन्य प्राणी पनि चाहन्छन् । तर तिनीहरु त्यसका लागि परस्परमा लड्छन् । आक्रमण र प्रत्याक्रमण गर्छन् । लड्ने सामथ्र्य नभएमा अर्थात शत्रु आफु भन्दा बलियो भएमा छलछाम र ध्रुतताको बाटो रोज्छन् । त्यो पाशविक मार्ग हो । मानिस पनि यदि त्यही मार्ग अपनाउँछ भने त्यो पनि पशु नै हो । तर मानिस अरु प्राणी भन्दा धेरै विवेक, चेतना र तर्क भएको प्राणी हो । यसैले त उसको उत्कृष्ट प्राणीमा गणना हुन्छ । यो उत्कृष्टता भनेकै आँखा चिम्लेर आवेस र क्रोधमा आएर निर्णय नगरी बुद्धि र विवेक खियाएर तर्कसंगत निर्णय गर्नु हो जसबाट कुनै पक्षलाई पनि हानी नोक्सानी हुँदैन । सहिष्णुता, पारस्परिक सहयोग र प्रेमद्वारा यो लक्ष हासिल गर्न सकिन्छ । यही विधिबाट सबै मानिसले चाहेको शान्ति, सुविधा र सुख सहजै प्राप्त गर्न सक्छ । यसका लागि पारस्परिक द्वन्द, भिडन्त र युद्धका समस्या हल गर्न राज्य प्रमुख या सरकार प्रमुखहरुले सम्झौता गरेर अथवा नेताहरुले दस्तखत गरेर मात्र पुग्दैन । जनस्तर मै शान्ति, सौहाद्र्रता र समझदारीका बिउहरु रोपिनुपर्दछ र तिनलाई जतनपुर्वक हुर्काउनु पर्दछ । संकुचित धार्मिक उन्माद, कट्टर राष्टवाद, जातिय अहंकार, रंग र लिंगका घमण्डहरु, आर्थिक असमानता, दलगत स्वार्थजस्ता कुराहरु नै आजको सामाजिक द्वन्द र विग्रहका कारक तत्वहरु हुन् । यस्ता विवादहरु शान्तिमय तरिकाले निवारण गर्न जनस्तरबाटै खदिलो पहल गरिनुपर्दछ । खास गरिकन सानासाना नानीहरुको आलो मस्तिष्कबाटै त्यस्तो भेदभाव र पारस्परिक इष्र्या, द्वेष, घृणा, तिरष्कार, अवहेलना जस्ता निकृष्ट मानवीय दुर्गुण र विकारहरु मेटाउनु बढी प्रभावकारी हुनजान्छ किनभने उमेर चढ्दै गएपछि मानसिक चिन्तन बदल्न कठिन पर्छ । यस्तै धारणाहरु सहितको मानवतावादी चिन्तन बोकेर उनी प्रचार अभियानमा जुटे । सन् १९३३को प्रारम्भमा उनले अधिकांश युरोपेली मुलुकहरुको भ्रमण गरेर त्यहाँका प्रमुख शहरहरुमा त्यहाँका लव्धप्रतिष्ठित व्यक्तित्वहरुको सहयोग र उपस्थितिमा सभाको आयोजना गरी आफ्नो मानवताबाद दर्शनको व्याख्या र विश्लेषण गरे जसबाट त्यहाँका मानिसहरु धेरै प्रभावित भए र चर्चित पत्रपत्रिकाहरुले उनको परिचय र मानवतावाद दर्शनको सार संक्षेप उच्च महत्वकासाथ प्रकाशित गरे । पुनः उनी सन् १९३३मा सर्व धर्म सम्मेलनको दोश्रो संसदमा सहभागी हुन उत्तर अमेरिकाको शिकागो शहरमा गए । त्यस सभामा उनले विशेष महत्वको प्रवचन दिए जसबाट सहभागिहरु अति प्रभावित भए । उनले विभिन्न धर्मका भिन्नताहरुको चर्चा गर्नु भन्दा सबै धर्मका सकारात्मक र एकअर्कासित मिल्ने साझा कुराहरुलाई अघि सारेर सबै धर्मावलम्बीहरु एक जुट भै विश्व शान्ति अभियान चलाउने र दोश्रो विश्व युद्धको सम्भावित खतरालाई टार्नु नै सबै धर्मका लागि प्रमुख चुनौति हो भन्ने कुरामा विशेष जोड दिए ।
त्यसपछि उनकै सक्रिय पहलमा विश्व धार्मिक भाइचारा संघ (World Fellowship of Faiths) नामको स्थायी संस्था गठन भयो र उनी पनि त्यसका सदस्य र एशिया प्रतिनिधि चुनिए । त्यसपछि उद्देश्यमा पनि एकरुपता भएको र दुइटा संस्थामा संगै काम गर्न असहज समेत हुने भएकोले आफ्नो पहिलेको संस्था ह्युमनिष्टिक क्लबलाई विश्व धार्मिक भ्रातृत्व संघ मै समावेस गरिदिए । त्यहाँबाट भारत फर्किनेबेला उनले चीन र जापानको पनि यात्रा गरे र विभिन्न शहरमा विश्व शान्ति र विश्व भाइचाराको औचित्य सम्बन्धमा सारगर्भित प्रवचनहरु दिए । अनि भारतमा पुगेर त्यहाँका बिभिन्न शहरहरुमा पनि सभाको आयोजना गरेर आफ्ना महत्वपूर्ण सैद्धान्तिक प्रवचनहरु दिए । सन् १९३६मा बर्माको रंगून शहरमा गएर त्यहाँका विद्वतजनहरुको सहभागिता र सक्रियतामा जयपृथ्वी इन्स्टिच्युट र विश्व धार्मिक भ्रातृत्व संघको शाखा खोले । सन् १९३५मा इटालीले अबिसिनियामा आक्रमण गर्दा रेडक्रस संस्थाको माध्यमबाट युद्धपिडितहरुको सेवा गर्न भनेर त्यहाँ पुगेका उनी अबिसिनियाको आत्म समर्पण पछि युद्धबन्दि बनाइए र कारागार मै बिरामी परे । त्यहाँबाट फर्किसकेपछि पनि रोग निको भएन र त्यही रोगका कारण सन् १९४०मा ६३ वर्षको उमेरमा बंगलोरमै परलोक भयो । त्यहाँका समाचारपत्रहरुमा दोस्रो बुद्धको देहावसान भयो भनेर ठूलो महत्वकासाथ समाचार प्रकाशित भयो ।
यस्ता महान र गतिशील व्यक्तित्व जस्ले परिस्थिति र आवस्यकता अनुसार आफ्नो भुमिका र कार्यक्षेत्रलाई व्यापक र फराकिलो पार्दै एउटा बझाङीबाट विश्व मानवसम्म बन्न पुगे, आफ्नै देशमा उनको दर्शनको प्रचार प्रसार तथा उनको महान व्यत्तित्वको सम्मान र कदर गर्नका लागि कुनै गतिलो कार्य हुन सकेन । कौडीमा पनि मिल्किन्छ भिल्लका देशमा मणि भने झैं भयो । त्यस्ता प्रातःस्मरणीय देशका उज्वल तारास्वरुप व्यक्तित्वको आत्माको चिर शान्तिको कामना गर्दै उनको १४४औं जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।
ऐनवहादुर सिंह
पूर्व उपप्राध्यापक
जयपृथ्वी क्याम्पस, बझाङ