संस्कृत र नैतिक शिक्षालाई जोड दिनुपर्छ ः विश्व हिन्दु महासंघका उपाध्यक्ष साउद
महेन्द्रनगर, ७ पौष
नेपालमा हिन्दु धर्मालम्बीहरुको बाहुल्यता रहेकाले हिन्दु राष्ट्र हुनुपर्ने विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा रुडुक नेपालका केन्द्रिय महासचिव ज्योत्सना साउदले बताउनु भएको छ । सोमवार कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ७ गाउजी चौखुट्टीमा रहेको बैजनाथ भजनकिर्तन समुहले आयोजना गरेको भेटघाट तथा अन्र्तक्रिया कार्यक्रममा सो कुरा बताउनु भएको हो ।
कानुन निर्माण गर्दा संस्कृत र नैतिक शिक्षालाई अनिवार्य रुपमा लागु गर्नुपर्ने कुरालाई पनि हिन्दु महासंघले उठाएको विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा रुडुक नेपालका केन्द्रिय महासचिव साउदले बताउनु भयो ।
अरु सम्पुर्ण धर्महरुलाई विगतमा पनि सम्मान र संरक्षण गरेको र अहिले पनि गरी रहेको बताउदै आगामी दिनमा पनि अन्य धर्महरुलाई सम्मान र संरक्षण गर्नुपर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै उहाले घर परिवारले महिलाहरुलाई सहयोग र सम्मान गरेमा मात्रै महिलाहरुको सुरक्षा र समृद्धि हुने बताउनु भयो । बैजनाथ भजन किर्तन समुहले सामाजिक क्षेत्रमा गरेको कामको प्रशसां गर्दै उहाले यसरी सबै क्षेत्रहरुबाट सकारात्मक विचारले अघि बढेमा सबै क्षेत्रमा समावेशी सहभागिता हुनसक्ने बताउनु भयो । उहाले बैजनाथ भजन किर्तन समुहलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रम बैजनाथ भजन किर्तन समुहका अध्यक्ष धर्मराज पाण्डेयको सभापतित्वमा सम्पन्न भएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि विश्व हिन्दु महासंघका उपाध्यक्ष तथा रुडुक नेपालका केन्द्रिय महासचिव ज्योत्सना साउद रहनु भएको थियो भने कार्यक्रमका विशिष्ट अतिथि नेपाल महिला संघकी केन्द्रिय सदस्य रमिता देउवा रहनु भएको थियो । कार्यक्रममा महिला संघकी सदस्य देउवाले बैजनाथ भजन किर्तन समुहलाई ५ हजार २५ रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । कार्यक्रमका सञ्चालक रहनु भएका बैजनाथ भजन किर्तन समुहका संस्थापक अध्यक्ष एवम् संरक्षक तुलसी जोशीले बैजनाथ भजन किर्तन समहुका विषयमा जानकारी गराउदै कार्यक्रमको उद्येश्यका विषयमा समेत प्रष्ट्याउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य बैजनाथ भजन किर्तन समुहका कोषाध्यक्ष सरस्वती चपाईले राख्नु भएको थियो भने बैजनाथ भजन किर्तन समुहका सल्लाहकारद्धय बासुदेव पन्त र गणेशदत्त भट्टले भजनका माध्यमबाट कार्यक्रममा सहभागीहरुलाई स्वागत गरेका थिए ।
कार्यक्रममा बैजनाथ भजन किर्तन समुहका सचिव कलावती पन्तले महिलाहरुको उत्थानका लागि विश्व हिन्दु महासंघले गर्न सक्ने कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउदै यस्ता संस्थाहरुको सहयोगमा महिलाहरुको उत्थान हुन सक्ने बताउनु भयो । कार्यक्रममा नेपाली काग्रेस वेदकोट नगर समितिका सभापति पुष्पराज भट्ट, सुडा टाउन खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका अध्यक्ष थानेश्वर प्रसाद भट्ट, समाजसेवी, बुद्धिजीवी लगायत अध्यात्मक चिन्तन भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।