हाल नेपालमा २२ हजारभन्दा बढी सामुदायिक वन उपभोक्ता समूह कार्यरत छन्। त्यसमध्ये झन्डै ११ सय सामुदायिक वन महिलाले मात्र सञ्चालन गरेका छन्। धेरै सामुदायिक वनमा महिला र पुरुषको समान सहभागिताको वृद्धि र विकास भइरहेको छ। यो आफैंमा एउटा गौरवपूर्ण अवस्था हो।
त्यसैले समावेशी व्यवस्थापन स्थापनाकालदेखि नै अब्बल रहेको महासंघले ग्रामीण क्षेत्रमा प्राकृतिक स्रोतसँग बिहान–बेलुका रमाउन वन र अन्य प्राकृतिक स्रोतसँग जोडिएका ग्रामीण महिलालाई नजिकबाट नियाल्दै आएको छ । संरक्षण गरेर प्राकृतिक स्रोतको संरचना बढाउने र आफूले संरक्षण गरेको वनबाट लाभ लिन सकिने विषयमा गाउँका महिला दिदीबहिनी विश्वस्त हुन थालेपछि बिरुवा रोप्ने, त्यसको संरक्षण गर्ने, छोराछोरीलाई जस्तै रोपेका बिरुवा हुर्काउने काममा महिलाको सक्रिय योगदान रहेको वर्तमान अवस्थामा प्राकृतिक स्रोत र सामुदायिक वनले ल्याएको परिवर्तनलाई हेरेरै यकिन गर्न सकिन्छ।
गाउँबाट धेरैजसो पुरुष वैदेशिक रोजगारमा जाने हुँदा महिलामा अझ कार्यबोझ थपिएको र घरपरिवार, गाईवस्तु, खेतीपाती, मेलापर्व सबै व्यवस्थापन गरेर सामुदायिक वन हरियाली बनाउने अभियानमा महिला दिदीबहिनी जोडिनु नै आजको वनको हराभराको महत्त्वपूर्ण पक्ष बनेको छ। तर यति धेरै योगदान गरेका महिलाको श्रमको हिसाबकिताब अझै हुन सकेको छैन।