सो मतदानमा प्रदेश सभाका ८३ जना सांसद तथा स्थानीय तहका प्रमुख उपप्रमुख अध्यक्ष र उपाध्यक्ष गरी तीन सय जनाले मतदान गर्ने छन्।
यी सबैको मतभार ७,८९० हुनेछ।
यसअघि राष्ट्रिय सभामा निर्वाचित माओवादी केन्द्रका सांसद चन्द्रबहादुर खड्का एमालेमा प्रवेश गरेपछि सो पद रिक्त हुन गएको थियो।
यो उपनिर्वाचनमा एमालेबाट उनै खड्का उम्मेदवार बनेका छन् भने नेपाली काङ्ग्रेस र नेकपा माओवादी लगायतको विपक्षी गठबन्धनबाट दृगनारायण पाण्डे उम्मेदवार छन्।
दाङको घोराहीमा बिहान ९ बजेबाट सुरु भएको निर्वाचन अपराह्ण ३ बजेसम्म चल्नेछ।
चुनावपछि सोमवार नै मतगणना हुने बताइएको छ।
चुनावी अङ्कगणित
आइतवार दिउँसोसम्म यो चुनावमा विपक्षी गठबन्धन बलियो अवस्थामा थियो।
तर अचानक निर्वाचन आयोगले यसअघि मतदाताको सूचीमा समावेश नगरिएका जनता समाजवादी पार्टीका चारजना सांसदलाई पूरक मतदाताको रूपमा थपेपछि विपक्षी गठबन्धन केही अप्ठेरोमा परेको देखिएको छ।
सरकारतर्फ लागेर मन्त्री बनेपछि जसपाका चार जनालाई पार्टीले निष्काशन गरेको थियो।
तर सर्वोच्च अदालतले उनीहरूको पद तत्काललाई थमायो अनि निर्वाचन आयोगले पनि चुनावको अघिल्लो दिन उनीहरूलाई पूरक मतदाताका रूपमा समावेश गरेको छ।
योसँगै यसअघि स्पष्ट बहुमतमा देखिएका विपक्षी उम्मेदवार दृगनारायण पाण्डेलाई केही धक्का लागेको देखिन्छ किनभने चारजना सांसदको १९२ मतभार उनको विपक्षीमा गएको छ।
तर यति हुँदाहुँदै पनि एमालेका माधव नेपाल पक्षबाट ‘फ्लोर क्रस’ हुने सम्भावना पनि उत्तिकै छ।
समग्रमा विपक्षीको अवस्था चार हजार र सत्तापक्षको ३,८०० को हाराहारीमा मतभार देखिएको छ।
Comments are closed.