बैतडी जिल्ला प्रवेश गर्ने यात्रुहरूको कोरोना परीक्षण शुरू भएको छ । दोस्रो लहरको कोरोना भाइरसको संक्रमण तीव्र रूपमा फैलिरहेकोले त्यसको रोकथाम र नियन्त्रणका लागि बैतडी भित्रिने यात्रुहरूको कोरोना परीक्षण शुरू भएको हो । खोडपेमा हेल्थ डेस्क स्थापना गरेर मंगलवारदेखि एन्टीजेन विधिबाट जिल्ला भित्रिने यात्रुहरूको परीक्षण शुरू गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिनु भयो । बैतडी जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनलाई बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म मात्रै भित्रिन दिइएको हो । मंगलवारदेखि शुरू भएको तेस्रो पटकको निषेधाज्ञाको आदेश जारी गर्दै रातीको समयमा जिल्ला भित्रिने यात्रुवाहक सवारी साधनमा रोक लगाएको हो । विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म खोडपेमा स्थापना गरिएको हेल्थ डेस्कमा स्वास्थ्यकर्मी परिचालन गरी कोरोना परीक्षण कार्य भइरहेको बैतडीका प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । हेल्थ डेस्कमा यात्रुहरूको कोरोना परीक्षण गरिने र पोजेटिभ आएकालाई आइसोलेसन राख्ने र नेगेटिभ आएकालाई घर जान दिइने बताउदै उहाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडी जिल्ला भित्रिनेहरुको नाकामै परीक्षण गरिरहेका बताउनु भयो । हेल्थ डेस्कमा कोरोना परीक्षण गर्नका लागि ६ जना स्वास्थ्यकर्मी परिचालन गरिएका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनु भयो । बैतडी जिल्लामा कोरोनाको चेन ब्रेक गर्नका लागि तराईबाट पुगेकाहरुको पनि परीक्षण आवश्यक रहेकोले परीक्षण शुरू भएको उहाले बताउनु भयो । यसअघि भारतसँग जोडिएको सीमानाका झुलाघाटमा पनि हेल्थ डेस्क स्थापना गरी कोरोना परीक्षणको काम भइरहेको छ । बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । कोरोना संक्रमणदर न्यूनीकरणका लागि निषेधाज्ञाको अवधि थपिएको जनाइएको छ । संक्रमणको जोखिम अझै कायमै रहेकोले निषेधाज्ञालाई निरन्तरता दिइएको हो । निषेधाज्ञाको अवधिमा आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको छ । खाद्य पसल, तरकारी पसल बिहान ७ देखि ९ बजे सम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ । यसैगरी निषेधाज्ञाको समयमा खाद्य पदार्थको मूल्य बढाएमा कारबाही हुने आदेशमा उल्लेख गरिएको छ। यसैगरी बैंक तथा वित्तीय संस्थाहरूले पनि आलोपालो मिलाई हप्तामा तीन दिनमात्रै दिनको २ घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । विकास निर्माणका कार्यका हकमा भने सम्बन्धित योजनाको प्रमुखको सिफारिशमा जिल्ला प्रशासन कार्यालय बैतडीको अनुमतिमा मात्रै सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरूमा रोक लगाइएको छ भने विवाह ब्रतबन्ध जस्ता कार्यहरूमा थोरै मानिसको सहभागिता हुनुपर्ने उल्लेख गरिएको छ । आदेशको उल्लंघन गरिएमा कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही हुने उल्लेख गरिएको छ । भारतसँग सीमा जोडिएका बैतडी जिल्लामा हाल ४९८ जना कोरोना सक्रिय संक्रमित रहेका छन् भने कोरोनाकै कारण हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।