श्रीलङ्कालाई पराजित गर्दै नेपाली शीर्ष स्थानमा

दुई दशकको अवधिमा १३ औँ संस्करणसम्म आइपुग्दा दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनशिपको फाइनलसम्म पुग्न नसकेको नेपालले यसपालि बलियो शुरूआत गरेको छ।

माल्दिभ्सको मालेमा सञ्चालन भइरहेको प्रतियोगिताको पहिलो दिन बलियो ठानिएको आयोजक माल्दिभ्सलाई १-० ले हराउँदै नेपालले प्रतियोगितामा प्रभावशाली शुरूआत गरेको थियो।

सोमवार राति तनावपूर्ण देखिएको अर्को खेलमा श्रीलङ्कालाई ३-२ ले पराजित गरेपछि नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने प्रतियोगितामा दाबेदारी समेत गरेको छ।

रोमाञ्चपूर्ण खेल

साफ च्याम्पियनशिपमा पहिलो पटक ५ गोल भएको खेल रोमाञ्चपूर्ण बनेको थियो।

तर खेलको ३० औँ मिनेटमा सुमन लामाले डि बक्स भित्रबाट गरेको शक्तिशाली प्रहार विपक्षी गोलरक्षकलाई छिचोल्दै गोल गरेर नेपाललाई अग्रता दिलाए। त्यसपछि खेलमा नेपालले दबाव सिर्जना भयो।

दोस्रो हाफको शुरूआतमै गोल थपेर नेपालले अग्रता दोब्बर पार्‍यो।

वैकल्पिक खेलाडी आयुष घलानले दायाँ छेउबाट गरेको क्रसमा नवयुग श्रेष्ठले हानेको फितलो प्रहार गोलकीपरले छेकेका थिए।

तर फर्केर आएको सोही बललाई कसैको निगरानीमा नरहेका अञ्जन विष्टले खाली पोस्टमा सहजै गोल गरे।

नेपाल

तस्बिर स्रोत, ANFA

निकै आक्रामक रूपमा प्रस्तुत भएको श्रीलङ्काले लगातार आक्रमण गरिरहेको थियो। दबाव स्वरूप ५६ औँ मिनेटमा मर्विन ह्यामिल्टनको गोलमा श्रीलङ्का खेलमा फर्किन प्रयास गर्‍यो।

ह्यामिल्टनले गोल फर्काएपछि नेपाली पोस्टमा दबाव थपिएको थियो जसलाई थेग्न नेपाली रक्षकहरूलाई अन्तिम समयसम्म हम्मेहम्मे परेको थियो।

तर खेल सकिनु ४ मिनेटअगाडि आयुष घलानले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाएर खेल लगभग नेपालको पक्षमा ल्याए।

उनले तेज तामाङले दिएको चलाखीपूर्ण पासमा बललाई देब्रे खुट्टाले नियन्त्रण गर्दै सुन्दर ‘फिनिसिङ’ गरेका थिए।

यो घलानको राष्ट्रिय टोलीबाट पहिलो गोल पनि हो।

तर ‘ड्रामा’ अझै बाँकी थियो। खेलको इन्ज्युरी समयमा श्रीलङ्काले पेनाल्टी पायो र त्यसलाई डिलन डे सिल्भाले गोल गरेर खेल ३-२ को स्थितिमा ल्याए।

तर त्यतिञ्जेल श्रीलङ्कालाई ढिला भइसकेको थियो। त्यसको डेढ मिनेटपछि खेल सकिएको सिटी बज्यो।

साफ च्याम्पियनशिपमा नेपालले श्रीलङ्कालाई पराजित गरेको यो दोस्रो पटक हो। यसअघि सन् १९९९ मा भारतमा भएको चौथो संस्करणमा नरेश जोशीको ह्याट्रिकमा नेपाल ३-२ गोल अन्तरले नै विजयी भएको थियो।

शीर्ष स्थान

दुई खेलपछि नेपालको ६ अङ्क छ।

सोमवार नै भारतसँग १-१ को बराबरी खेलको बाङ्ग्लादेश ४ अङ्कका साथ दोस्रो स्थानमा छ। भारत तेस्रो तथा श्रीलङ्का र माल्दिभ्स अङ्कविहीन छन्।

साफ च्याम्पियनशिप दक्षिण एशियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता हो।

जारी संस्करणमा दक्षिण एशियाका पाँच राष्ट्रहरू नेपाल, भारत, माल्दिभ्स, बाङ्ग्लादेश र श्रीलङ्का गरी पाँच राष्ट्रले भाग लिइरहेको यो प्रतियोगितामा सबै राष्ट्रले एकले अर्कोसँग (राउण्ड रोविन लीग) खेल्नेछन्।

कोरोनाभाइरस सङ्क्रमणको जोखिमबीच भुटानले यसपालि टोली पठाएन भने पाकिस्तान फुटबल फिफाबाट प्रतिबन्धमा परेकोले सहभागी हुन पाएन।

दबावमा नेपाल

साफ च्याम्पियनशिपमा नेपालले इतिहासमा सधैँ राम्रो फुटबल पस्के पनि नतिजाको हिसाबमा भने सधैँ पछि पर्दै आएको छ।

खेल राम्रो तर नतिजा शून्य हुँदा नेपाली टोलीको आलोचना हुने गरेको छ।

नेपाल अहिलेसम्म सेमिफाइनलभन्दा माथि पुग्न सकेको छैन।

पछिल्लो समय सन् २०१३ मा काठमाण्डूमा भएको संस्करणमा नेपालले अफगानिस्तानविरुद्ध दुई पटक पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा फाइनल पुग्न असफल भएको थियो।

पहिलो पेनाल्टी गोल नभए पनि रेफ्रीले फाउल दिँदा नेपालले पुन: पेनाल्टीको अवसर पाएको थियो। रोहित चन्दले दुवै अवसर खेर फालेका थिए।

दक्षिण एशियाली फुटबलमा भारतको प्रभाव रहँदा पछिल्लो दुई दशकमा नेपालभन्दा कमजोर माल्दिभ्सले उपाधि जितिसकेको छ।

नेपाल

तस्बिर स्रोत, ANFA

केही समय सार्क मुलुकमा समावेश हुन आएको अफगानिस्तानले पनि उपाधि चुमिसकेको छ। तर नेपाल भने उपाधिबाट अझै टाढा छ।

नेपालले दुई वर्षअगाडि भएको १३ औँ साग गेम्स (दक्षिण एशियाली खेलकुद) र १२ औँ संस्करणको सागमा गरी लगातार फुटबल उपाधि जितेको छ।

तर साग गेम्स २३ वर्षमुनि उमेर समूहका खेलाडीहरूको प्रतिस्पर्धा हो।

अनुभवी र युवा खेलाडीहरूको समिश्रणमा बनेको नेपाली टोली यसपालि फेरि अगाडि बढेको छ।

दक्षिण एशियाको च्याम्पियन बन्ने अभियानमा यसपालि अखिल नेपाल फुटबल सङ्घले राम्रो तयारी गरेको थियो।

टोलीले काठमाण्डूमा भारतसँग दुई मैत्रीपूर्ण फुटबल, त्यसपछि कतारमा दुई साताको अन्तिम तयारी र त्यस क्रममा ओमानसँग एउटा मैत्रीपूर्ण फुटबल खेलेको थियो।

धेरैले यो साफ च्याम्पियनशिपलाई नेपाली खेलाडीका लागि अवसर अनि पछिल्लो समय नेपाली मिडियामा चर्चा पाएका नेपालका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको परीक्षाको रूपमा हेरिएको छ।

नेपालले अब असोज २४ गते भारतसँग र असोज २७ गते बाङ्ग्लादेशसँग खेल्नेछ।

राउण्ड रोविन लीगका शीर्ष दुई टोलीले सीधै फाइनल खेल्नेछ। फाइनल खेल असोज ३० गते हुनेछ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.