किलोमै पाँच रुपैयाले बढ्यो, डन्डीको भाउ

२० दिन अघि उत्पादित माल बिक्री नभएर उद्योगनै बन्द गरेको दाबी गरेका उद्योगीले डन्डीको भाउ किलोमै पाँच रुपैयाँसम्म बढाएका छन्।

अन्तर्रा्ष्ट्रिय बजारको हवाला दिँदै सबै डन्डी उद्योगले डन्डीको भाउ बढाएका हुन्। उद्योग संचालकको दाबी छ(‘अन्तर्रा्ष्ट्रिय बजारमा विलेटको भाउ टनमै ७५ डलर बढेर ४२५ डलर पुगेकोले डन्डीको भाउ बढेको हो।

उद्योग संचालकको यो दाबी आफैमा तर्कसंगत देखिदैन्। २० दिन अघि माग भन्दा आपूर्ति बढी भएको कारण देखाउँदै उत्पादन बन्द गरेका थिए। त्यो बेलामा उत्पादित डन्डी बिक्री नभएर उद्योगमै थन्किएको जिकिर समेत गरेका थिए।

उद्योग संचालकको भनाई र उनीहरुले लिने ऋणको प्रकृतिमा समेत मेल खाँदैन्। अहिले ५० करोड रुपैयाँ भन्दा माथिको ऋण लिँदा क्रेडिट रेटिङ गराउनुपर्छ। त्यो क्रेडिट रेटिङ हेर्दानै अधिकांश डन्डी उद्योगले आफूलाई चाहिने कच्चा पदार्थ र वेयरहाउसका लागि अल्पकालिन ऋण अगाडिनै लिएका हुन्छन्।

यसको ब्याजदर पनि सम्झौंता अवधिमै निश्चित हुन्छ। नेपालमा रहेका दुई वटा रेटिङ एजेन्सीकै तथ्यांक हेर्ने हो भने पनि अधिकांश उद्योगले ६ महिनासम्मको कच्चा पदार्थ ल्याइसकेका छन्।

एक क्रेडिट रेटिङका उच्च अधिकारीका अनुसार माग भन्दा आपूर्ति बढी भएका कारण अहिले सबैजसो उद्योगसँग तीनदेखि ६ महिनालाई पुग्ने डन्डी थन्किएर बसेको छ। यो आधारमा अन्तर्रा्ष्ट्रिय बजारमा डन्डीको कच्चा पदार्थको मूल्य बढ्नेवित्तिकै यहाँ भाउ बढाउनुपर्ने अवस्था छैन। उद्योगीले अन्तर्रा्ष्ट्रिय बजारको हवाला दिँदै कार्टे्लिङ गरेर मूल्य बढाएका हुन्।

एक हार्डवेयर संचालकका अनुसार स्टक भएको डन्डीनै मूल्य बढाएर बेचिरहेका छन्।‘हामीले एक साता अघिसम्म ६५ रुपैयाँमा पाइरहेको डन्डी अहिले ६८ रुपैयाँको बिल बनाएर पठाउन थालेका छन्’ ती संचालकले भने,’पहिला डन्डी बेच्न आलसतालस परेका उद्योगीले अहिले एकाएक मूल्य बढाएर नाफा खान खोजेका छन्।’

उनका अनुसार डन्डीको माग नबढेकोले मूल्य माथि जान भने सक्दैन्। ‘व्यक्तिगत घर बनाउनेको संख्या बढ्ने अवस्था छैन। कित्ताकाटले समस्या परिरहेका बेलामा राष्ट्र बैंकले व्यक्तिगत घर कर्जा लिन कर चुक्तादेखि ऋण भुक्तानी आम्दानी अनुपातको अधिकतम सीमा ५० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेपछि झनै ठप्प हुने अवस्था छ,’ ती हार्डवेयर संचालकले भने,’मागनै घट्ने अवस्थामा डन्डी उत्पादकले छोटो समयमा नाफा कमाउन मूल्य बढाएका छन्। यो दीगो हुँदैन।’ उनका अनुसार नाकाबन्दीका समयमा पनि केही सिमेन्ट र डन्डी उद्योगले अस्वभाविक नाफा कमाउन मूल्य बढाएका थिए।

के भन्छन् डन्डी संचालक?

लक्ष्मी स्टीलका संचालक विष्णु न्यौपाने अन्तरर्रा्ष्ट्रिय बजारमा विलेटको मूल्य उकालो लागेकाले डन्डीको मूल्य बढेको बताउँछन्।

‘डन्डीको कच्चा पदार्थ विदेशमा निर्भर गर्छ। हामीले विदेशबाटै मगाउने हो। अहिले विदेशमा टनमै ७५ डलर बढेपछि हामीले यहाँ किलोमा पाँच रुपैयाँ बढाएका हौं,’ उनले भने,’विगतमा पनि अन्तर्रा्ष्ट्रिय बजारमा बढ्दा बढ्ने र घट्दा घटाउने गरेका छौं।’

उनले नेपालमा डन्डीको माग बढेर मूल्य नबढेको भने स्वीकार गरे। ‘यहाँ डिमान्ड बढेर मूल्य बढेको होइन। डन्डी उद्योगसँग कच्चा पदार्थको स्टक पनि हुन्छ र अर्को कच्चा पदार्थको बुकिङ पनि गरिएको हुन्छ’ न्यौपानेले भने,’दुईवटै मेन्टन गर्दा अन्तर्रा्ष्ट्रिय बजार अनुसार नेपालमा डन्डीको मूल्य धेरै नबढेको हो।’

सरकारी अधिकारी के भन्छन्?

उद्योगीले एक सातामै डन्डीको मूल्य बढाएको बारेमा वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन गर्ने भएको छ।

‘एक सातामै डन्डीको मूल्य बढेको केही सूचनाहरु आएका छन्। हामीले यसलाई सुक्ष्म रुपमा अध्ययन गर्छौं’ वाणिज्य सचिव बैकुण्ठ अर्यालले भने,’उनीहरुले ल्याएको कच्चा पदार्थ आयात गरेको विजक हेर्ने वित्तिकै सबै तथ्य पत्ता लागिहाल्छ।’

सम्बन्धित

Leave A Reply

Your email address will not be published.